काठमाडौं- नेकपा (एमाले)ले १०औँ महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ।
आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठक बैठकले पार्टीको १०औं महाधवेशन चितवनमा आयोजना गर्ने निर्णय गर्दै त्यसका लागि मूल व्यवस्थापन समिति गठन गरेको हो।
‘आजको बैठकले पार्टीका १०औं राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा गर्ने निर्णय गरेको छ। महाधिवेशनको व्यवस्थापनका लागि पार्टीका स्थायी कमिटी सदस्य कमरेड रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन गरिएको छ। उक्त कमिटीमा कमरेडहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, डा. राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सिता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावलसहित सातवटै प्रदेशबाट वटै प्रदेशबाट एक/एक जना प्रतिनिधिहरु र सम्पर्क समन्वय कमिटीबाटसमेत एक जना प्रतिनिधि रहनुहुनेछ। मूल व्यवस्थापन कमिटी २१ सदस्यीय हुनेछ,’ स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने।
बैठकले पार्टीको हालै सम्पन्न विधान महाधिवेशन भव्यताका साथ सम्पन्न भएको निष्कर्ष निकाल्दै सहयोग गर्नुहुने सबैप्रति धन्यवाद समेत दिएको उनले बताए। एमाले स्थायी कमिटी बैठकले पार्टीको विधान महाधिवेशनले पार्टीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएको निष्कर्ष पनि निकालेको उनले जानकारी दिए।
एमालेले हालै आएको बाढी, पहिरो, हिमपात र डुबानलगायतका प्राकृतिक विपत्तिमा ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै त्यसप्रति गहिरो दुःख व्यक्त गरेको छ। त्यसैगरी प्राकृतिक विपत्तिमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राहत र उद्धारको काममा उचित व्यवस्था मिलाउन सरकारसँग माग गरिएको प्रवक्ता ज्ञवालीले बताए।
बैठकले विपत्तिमा परेकाहरुलाई राहत र उद्धारको कार्यमा जुटन पार्टीका सिंगो पंक्तिलाई आह्वानसमेत गरेको छ। बैठक भोलि शुक्रबार दिउँसो २ बजे पनि तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बोलाइएको एमालेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।