काठमाडौं– सामलिङ पावर कम्पनी लिमिटेडले आज (कात्तिक ४ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ।
कुल सेयरमध्ये २ प्रतिशत कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
सो सेयरमा सर्वसाधारणले कात्तिक ८ गतेसम्म आवेदन दिन सकिने निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ सो अवधिमा पूर्ण आवेदन नपरेमा कात्तिक १८ गतेसम्म आवेदन दिने मिति लम्बिने क्यापिटलको भनाइ छ। सो सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखाबाट सेयरमा आवेदन दिन सक्नेछन्। साथै, मेरो सेयर वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।