काठमाडौं- दशैं विदापछि लगातार दुई दिन उच्च अंकले घटेको सेयरबजारमा आज ब्रेक लागेको छ। आज (बुधबार) नेप्से परिसूचक घट्ने क्रममा ब्रेक लाग्दै ६०.५६ अंकको उछाल आएको हो। यससँगै नेप्से २५७१.६६ विन्दुमा उक्लिएको छ।
आइतबारबाट खुलेको नेप्से पहिलो दिन १७.५९ अंकले बढेको थियो। त्यसपछि सोमबार र मंगलबार क्रमश: ६९.५१ र ७७.३३ अंकको गिरावट आएको थियो।
नेप्सेमा आज दुई अर्ब ६७ करोड ९० लाख २८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २१७ वटा कम्पनीका ६१ लाख एक हजार ४१४ कित्ता सेयर ३४ हजार ६४४ पटक किनबेच भएका थिए।
आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १२.०९ अंकले बढेर ४८४.०५ विन्दुमा उक्लिएको छ।
आज तीनवटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ। आखुखोला जलविद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी र मैलुङ खोला जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशतले बढेपछि सर्किट लागेको हो। एनआईबीएल प्रगति फण्डका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिएकाइ २.३४ प्रतिशतका दरले गुमाएका छन्।
आज नबिल बैंक लिमिटेडको सेयर सबैभन्दा धेरै ९४ करोड ८० लाख पाँच हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सिटिजन्स म्युचुअल फण्ड-२ सबैभन्दा धेरै दुई लाख ८२ हजार ८९६ एकाइ र अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको सेयर सबैभन्दा धेरै ८८८ पटक किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।