काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले अवसरवादको खेती गर्ने शक्तिहरु सच्चा कम्युनिष्ट हुन नसक्ने बताएका छन्। नेकपा एमाले कास्कीद्वारा बुधबार पोखरामा आयोजित दशैं, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले सच्चा कम्युनिष्टले आफ्नो पार्टीको सरकारलाई हटाएर विरोधी पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन नसक्ने बताए। पार्टीलाई थप क्रियाशील तथा संगठित बनाउँदै अघि बढ्ने समय आएको उनको भनाइ थियो।
जनताको समर्थन हुँदाहुँदै नेकपा एमाले नेतृत्वको सरकारलाई अपदस्थ गर्ने काम भएको बताउँदै उनले मुलुकको आर्थिक विकास र समृद्धिको मुद्दालाई जहाँ भए पनि नछोड्ने प्रतिवद्धता व्यक्त गरे।
नेकपा एमाले केन्द्रीय सचिव एवम् गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीको विधान अधिवेशनले पार्टी सङ्गठनलाई थप मजबुत र आगामी कार्य नीति निर्दिष्ट गरेको बताउँदै देशव्यापीरुपमा संगठन सुदृढीकरण अभियानमा अघि बढ्नुपर्नेमा जोड दिए।
पार्टी केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री खगराज अधिकारीले एमालेलाई थप संठठित बनाएर आगामी निर्वाचनमा राज्यको नेतृत्व गर्न सक्ने गरी अघि बढाउनुपर्नेमा जोड दिए। पार्टी पोलिटब्यूरो सदस्य एवम् पूर्वमन्त्री जगत विश्वकर्माले विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि संगठित भएर अघि बढ्न सङ्कल्प लिनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।