काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले भेटका लागि बोलाउँदा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन्।
ओलीले आफ्नो निमन्त्रणालाई अस्वीकार गरेको प्रधानमन्त्री देउवाले जानकारी गराएका छन्। संसद्मा अवरोध गरिरहेको प्रमुख प्रतिपक्ष दलका नेता ओलीलाई उक्त विषयमा छलफल गर्न देउवाले भेटका लागि बोलाएका थिए। तर, देउवाको आग्रहलाई ओलीले इन्कार गरिदिएका छन्।
‘कतिपटक बोलाएको आउनुभएन,’ सरकारी सञ्चार माध्यम गोरखापत्र दैनिकलाई अन्तर्वार्ता दिने क्रममा प्रधानमन्त्री देउवाले भनेका छन्, ‘मैले भन्या छु, कुरा गर्न जान्छु। एक्लै जान्न, साथी लिएर जान्छु। मान्छे पठाउन र म आफैं जान तयार छु। यो सदन चल्न दिनुपर्छ। हामी संसद् मान्ने दलले संसद् चल्न दिएनौँ भने के मान्यता भयो त?’
एमाले अध्यक्ष ओलीले वर्तमान सरकार जनादेशबाट नबनेको आरोप लगाउँदै आएका छन्। देउवाले उक्त आरोपको प्रतिवाद गर्दै १६५ जना सांसदको मत प्राप्त गर्नु जनादेश भएको दाबी गरेका छन्। ‘यो सरकार परमादेशको मात्रै सरकार नभइ जनादेशप्राप्त सरकार हो। ओलीले परमादेशको सरकार भन्नुहुन्छ, यो सरकारलाई बहुमत प्राप्त छ, यो जनादेश हो कि होइन? त्यसैले परमादेश र जनादेश दुवै प्राप्त सरकार हो,’ उनले प्रतिवाद गरेका छन्।
एमसीसी अनुदानको रकम भएकाले स्वीकार्नुपर्ने उनको जिकिर छ। नेपालको कानुनभन्दा माथि एमसीसी छ भनी अनावश्यक बखेडा झिकिएको देउवाको भनाइ छ। ‘ब्याजमा होइन यो। ऋण होइन, अनुदान हो,’ एमसीसी संसद्बाट पारित हुनपर्ने पक्षमा रहेका देउवाले भने, ‘केही व्यक्ति छन् नेपालमा, तिनले एमसीसीको नाममा बखेडा गर्न खोजेका छन्। त्यसैले एमसीसी विशुद्ध नेपालको हितमा छ। नेपालको कानुनभन्दा माथि भनेर बखेडा निकालिएको छ।’
सरकारको १०० दिने उपलब्धि धेरै काम गर्न सकेको दाबी नगर्ने उनले बताए। अन्योलको अवस्थाबाट ग्रस्त भएको देशलाई मूलमार्गमा ल्याएको उनको दाबी छ।
क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता प्रदान गर्ने निर्णयलाई सरकारका १०० दिनको उपलब्धि भएको उनले बताए। अति विपन्न गरिब घरपरिवारलाई प्रतिघरपरिवार १० हजार रुपैयाँका दरले राहत दिने घोषणा गरिएको उनले बताए।
अघिल्लो सरकारले गरेका केही राजनीतिक नियुक्ति खारेज नहुने उनले प्रस्ट्याए। 'सबै नियुक्ति खारेज गर्नुपर्छ भन्नेचाहिँ होइन। जहाँ अनियमितता, जहाँ कानुन मिचिएको छ त्यस्ता ठाउँमा सच्याउनेछौँ,’देउवाले भने।
अघिल्लो सरकारका समयमा केही डरलाग्दा काम भएको उनले बताए। देउवाले डरलाग्दा कार्य कुन-कुन हुन् भन्नेबारे भने केही बताएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।