काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरुले जथाभावी ब्याजदर बढाउन थालेपछि त्यसलाई रोक्न नेपाल राष्ट्र बैंकले तीन बुँदे निर्देशन जारी गरेको छ। बैंकहरुले तरलता अभाव देखाउँदै धमाधम निक्षेप तथा कर्जाको ब्याजदर बढाइरहेका छन्।
पछिल्लो समय ब्याजदर बढाएर निक्षेप तान्ने होडमा रहेका बैंकहरुले साढे ११ प्रतिशतभन्दा बढी ब्याजदर पुर्याइसकेका छन्। यसरी बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा चलेपछि राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै तीन बुँदे निर्देशन पालना गर्न भनेको छ।
तीन बुँदे निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अधिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्नेछन्।
यस्तै संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा एक प्रतिशत विन्दुले कम हुनुपर्ने निर्देशनमा उल्लेख छ।
बैंक तथा वित्तीय संस्थाले उपदफा (१) र (२) बमोजिमको व्यवस्था २०७८ कात्तिक महिनाको लागि प्रकाशित भइसकेको ब्याजदरमासमेत संशोधन गरी मिति कात्तिक ३ गतेभित्र आफ्नो वेबसाइटमार्फत् सार्वजनिक गरी सोही मितिबाट लागू गर्नुपर्ने तथा यस्तो ब्याजदर कात्तिक ५ भित्र दैनिक पत्रिकामासमेत प्रकाशन गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ।
यस्तो छ राष्ट्र बैंकको निर्देशन:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।