काठमाडौं- मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सरकार ढल्ने निश्चित भएपछि बागमतीमा नयाँ बन्ने मुख्यमन्त्रीको नाम पनि लगभग तय भएको छ। नेकपा (एमाले)का मुख्यमन्त्री शाक्यलाई प्रतिस्थापन गर्न एमालेबाटै विभाजित नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र पाण्डे आउने भएका छन्।
वर्तमान मुख्यमन्त्री शाक्यले प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव टेबल गरिसकेकी छन्। प्रदेश सभाको बैठक बिहीबार बस्दै छ। सम्भवतः सोही दिन त्यसको टुंगो लाग्नेछ।
प्रदेश सभाबाट वर्तमान मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने सम्भावना छैन। शाक्यले विश्वासको मत नपाएपछि यही साता पाण्डे मुख्यमन्त्री बन्ने एकीकृत समाजवादीका एक प्रदेश सभा सदस्यले नेपाल लाइभलाई बताए।
बागमतीमा पाण्डे नै एकीकृत समाजवादीका संसदीय दलका नेता हुन्। ‘अष्ट कमरेड अल्पमतमा हुनुहुन्छ, उहाँले विश्वासको मत पाउने सम्भावना छैन। गठबन्धनबाट राजेन्द्र कमरेडले मुख्यमन्त्रीको शपथ लिनुहुनेछ,’ उनले भने।
बागमती प्रदेश सभाका ११० सदस्यमध्ये अहिले कायम १०९ जना छन्। शाक्यको पक्षमा एमालेका ४३ जना मात्र छन्। पाण्डेको पक्षमा एकीकृत समाजवादीका १३ जना, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, विवेकशील साझा पार्टीका तीन र जसपाका एक प्रदेश सभा सदस्य हुनेछन्। उनीहरु यसमा खुलिसकेका छन्। नेमकिपाका दुई र राप्रपा दुई जना भने कतै खुलेका छैनन्।
केन्द्रमा सत्तारुढ गठबन्धनभित्र बागमती प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति यसअघि नै भइसकेको छ। तर, कांग्रेसको प्रदेश सभा संसदीय दलका नेता इन्द्र बानियाले आफू मुख्यमन्त्री बन्नुपर्ने दाबी गर्दै आएका थिए। केन्द्रमा बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने निर्णय भए पनि यो निर्णय प्रदेश सभाले गर्न पाउनुपर्ने उनको दाबी थियो। कांग्रेसका एक नेताले भने बानिया पनि पाण्डेको पक्षमा सहमत भइसकेको दाबी गरे।
कर्णाली प्रदेशमा कांग्रेसका जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन लागिएकाले बागमतीको विषय पनि मिलेको कांग्रेसका ती नेताको दाबी छ। केही दिनपछि नै यसका लागि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने तयारी गरेका छन्। कांग्रेसका जीवनबहादुर शाहीले ढिलोमा कात्तिक १० भित्र कर्णालीमा सरकार परिवर्तन हुने अपेक्षा आफूले गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।