काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले बुधबारबाट प्रदेश २ का तीन जिल्लाका लागि तय गरेको दुई दिने भ्रमण कार्यक्रम स्थगित गरेका छन्।
सुदूरपश्चिमलगायत मुलुकका विभिन्न स्थानमा लगातारको वर्षातपछि गएको बाढी पहिरो र भएको डुबानबाट पीडितको उद्धार, राहत तथा पीडितलाई सुरक्षित स्थानमा सार्नेलगायत काममा व्यस्त हुनुपर्ने भएपछि उनले भ्रमण स्थगित गरेका हुन्। उनले स्थगित गरिएको भ्रमण कार्यक्रम मौसम अनुकूल भएपछि पुन: तय गर्ने जानकारी गराएका छन्।
उनी बुधबार र बिहीबार गरी प्रदेश २ का धनुषा, महोत्तरी र सर्लाहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको थियो।
गृहमन्त्री खाणले बुधबार जिल्ला प्रशासन कार्यालय सर्लाहीको मलङ्गवामा निर्मित भवन शिलान्यास गर्ने, जिल्लाका कार्यालय प्रमुखहरूलाई निर्देशन दिने तथा पार्टी कार्यकर्तासँग भेटघाटको कार्यक्रम तय भएको थियो।
त्यस्तै बिहीबार प्रदेश २ को सुरक्षासम्बन्धी बैठकमा सहभागी हुने, जानकी मन्दिरको दर्शन गर्ने र कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।