फाइल तस्बिर
काठमाडौं- एक्कासी देखिएको मौसम परिर्वतनपछि परेको पानीले आएको बाढीले बैतडीका ६० जना टापुमा फसेका छन्। सेती नदीको बाढीले घेरेका कारण उनीहरु फसेका हुन्।
सिगास गाउँपालिका-५ ढुंगाडमा १० परिवारका ६० जना सेती नदीले घेरिएको टापुमा फसेको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए। बस्तीमा बाढी पसेपछि सोमबारदेखि नै अन्यत्र सार्ने काम चलेको तर बिहान सेती नदीको पुल बगाएकोले समस्या भएकोले उनीहरु फसेको उनले बताए।
‘हिजैदेखि युवाहरुले केही मानिसलाई सारेका थिए तर विहान पानीको बहाव बढेको र पुलसमेत बगाउँदा समस्या भएको छ,’ उनले भने, ‘केही नजिकैको टापुमा अहिलेसम्म सुरक्षित बसेका छन् तर अब टापु नै डुबानमा परेपछि उनीहरूलाई हवाई उद्धार आवश्यक परेको छ।’
उद्धारमा सहयोग गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडलाई आफूले खबर गरेको तर मौसम खराब हुँदा हेलिकप्टर ल्याण्ड हुन नसकेको उनले बताए।
‘मौसमका कारण हेलिकप्टर ल्याण्ड हुन सकेन। स्थानीय प्रहरी जाने तयारी भइरहेको छ,’ उनले भने, ‘मौसम अलि खुल्नेबित्तिकै धनगढी वा काठमाडौंबाट हेलिकप्टर गएर उनीहरुको उद्धार गर्ने कुरा भएको छ।’
गाउँका उद्धार गर्ने युवाहरु नै अहिले फसेकाले समस्या भएको अध्यक्ष धामीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।