काठमाडौं- नेकपा (एमाले)बाट विभाजित भइ बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आफ्नो पार्टीमा भित्र्याउन पहल गर्ने भएको छ। त्यसका लागि उपयुक्त वातावरण सिर्जना गर्ने निर्णयसमेत उसले गरेको छ।
एकीकृत समाजवादीले सबै कमिटीहरुमा पठाएको अन्तरपार्टी निर्देशन (अपानि)-२ मा यसबारे विस्तृतमा उल्लेख गरिएको छ।
निर्वाचन आयोगले प्रदेश सभा र स्थानीय तहमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई एमालेमा रहने वा समाजवादीमा प्रवेश गर्ने निर्णय गर्न समयावधि तोकेको थियो। त्यो समयावधिभित्र आफ्नो पार्टीका पक्षमा सनाखत गर्न नसकेका जनप्रतिनिधिहरुलाई लक्षित गरेर एकीकृत समाजवादीले पहल अघि बढाउने निर्णय गरेको हो।
'विविध कारणले हाम्रो पार्टीमा सनाखत गरी आउन असमर्थ देखिएका जनप्रतिनिधिहरूलाई पार्टीमा प्रवेश गराउन, सहयोगी बनाउन तथा मित्रवत वातावरण निर्माण गर्न पहल गर्ने,' अपानि-२ को बुँदा नम्बर २० मा उल्लेख छ।
एकीकृत समाजवादीले आफ्नो पार्टीमा प्रवेश गर्न चाहनेहरूका लागि अनुकूल वातावरण तयार गर्न 'सबै तहमा एक राजनीतिक सम्वाद गर्ने संयन्त्र बनाइ कार्य गर्ने' समेत अपानिमा उल्लेख गरेको छ।
त्यस्तै, ‘एक वडा १०० सङ्गठित सदस्य र एक हजार पार्टी सदस्य’ निर्माण गर्ने अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।