काठमाडौं– गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग यसअघि गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु गरेका छन्।
गृहमन्त्री खाँणले सहमति कार्यान्वयनका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्बबहादुर खाती र गृहसचिव टेकनारायण पाण्डेसँग छलफल गरेका हुन्।
बैठकमा अहिलेसम्म सहमति कार्यान्वयनका लागि भएका काम र अबको कदमका विषयमा छलफल भएको जनाइएको छ। सो अवसरमा मन्त्री खाँणले सहमति कार्यान्वयका लागि अहिलेसम्म आफूले नेकपाका नेताहरूसँग गरेका वार्ता र उनीहरूका मागबारे जानकारी दिएका थिए।
केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल कम्युनिष्ट पार्टीसँग २०७७ फागुन २० गते तीन बुँदे सहमति गरेको थियो।
बैठकमा विशेषगरी सहमतिको बुँदा नम्बर तीनमा रहेको नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरूको रिहाइ र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत रहेको विषयमा छलफल भएको थियो।
वर्तमान सरकार बनेपछि नेकपाका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवुकमार नेपाल, गृहमन्त्री खाँणसहितलाई भेटेर अघिल्लो सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।