वालिङ- कोरोनाको सङ्क्रमणका कारण रोजगारी गुमाएका यहाँका युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ। रोजगारी गुमाएका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले उद्यमशीलता तथा नवप्रवर्तन कोषमार्फत् ‘स्टार्ट अप’ कारुपमा २० जनालाई जनही ५० हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको वालिङ नगरपालिका नगरप्रमुख दीलिपप्रताप खाँणले जानकारी दिए।
यसअघि पनि गत वर्ष २० जनालाई ५० हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराएको थियो। कोरोना सङ्क्रमणका कारण प्रभावित भइ स्वदेश वा विदेशमा रोजगारी गुमाएका वालिङका नागरिकलाई उद्यमशीलतातर्फ लाग्न प्रेरित गर्ने मुख्य उद्देश्यले कोष स्थापना गरिएको र सोही कोषमार्फत् सहयोग गर्दै जाने प्रमुख खाँणले बताए।
नगरपालिकाले व्यवसाय वा उद्यम गर्न चाहने नागरिकले नगरपालिकामा आर्थिक सहयोग माग गरेका आधारमा सहयोग गर्ने नीति बनाइ कार्यान्वयनमा ल्याएको छ। विशेषगरी उत्पादन तथा नवप्रवर्तनको सोच राखेका युवायुवतीलाई उक्त कोषमार्फत् अनुदान उपलब्ध गराउने भएको हो। विदेशमा रोजगारी गुमाइ फर्केका वा स्वदेशमा रोजगारीमा रहेका युवा युवतीलाई स्वरोजगार तथा आत्मनिर्भर बनाइ उनीहरुको आयआर्जन वृद्धि गर्न ‘उद्यमशीलता व्यवसाय प्रवर्द्धन तथा नवप्रवर्तन केन्द्र सञ्चालन कार्यविधि २०७७’ निर्माण गरी सोही कार्यविधिका आधारमा रहेर स्थापित कोषबाट आर्थिक सहयोग गरिने प्रमुख खाँणको भनाइ थियो।
कोरोना भाइरस प्रभावित भइ के गर्ने के नगर्ने अन्योलमा रहेका युवालाई उद्यमशीलता तथा नवप्रवर्तन कोषमार्फत् ‘स्टार्टअप’का रुपमा गत वर्षदेखि नगद अनुदान दिन थालिएको दियालो संस्थाकी अध्यक्ष कविता तिवारीले बताइन्।
व्यवसाय तथा उद्यम सञ्चालनका लागि युवामा भएको रचनात्मकतालाई उजागर तथा प्रोत्साहित गर्न प्रेरित गर्ने उद्देश्यले कोष स्थापना गरी सञ्चालन गरिएको अध्यक्ष तिवारीले जानकारी दिइन्। उक्त कोषमार्फत् विशेष राहत प्याकेज उपलब्ध गराइ युवालाई उद्यमी बनाइने भएको हो। कोरोना सङ्क्रमणका कारण बेरोजगारी समस्या बढ्दै गएकाले यसमा कमी ल्याइ उनीहरुलाई उद्यमी बनाइ आत्मनिर्भर बनाउने मुख्य उद्देश्य रहेकोले कोषमार्फत् सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) नेपालका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।