काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले संसद् सञ्चालनका लागि प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग छलफलको लागि तयार रहेको बताएका छन्। संसद चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबैपक्ष संवादमा आउनुपर्ने उनले बताए।
बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष एमालेसँग छलफलका लागि तयार रहेको बताए।
सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने बताए। आफूले संवादमा आउन बारम्बार आह्वाग गरिरहेको उनको भनाइ थियो।
‘संवादको विकल्प छैन। ढिलो चाँडो संवादमा उहाँहरु आउनुहुन्छ भन्ने छ र मैले ड्यासबाट नै पनि उहाँहरुलाई विनम्रता पूर्वक नै संसदको गरिमालाई बढाउनका लागि हामी सबैको दायित्व उत्तिकै भएको बताएको छु,’ उनले भने, ‘के पक्ष, के विपक्ष, सबैभन्दा बढी भूमिका त सदनको हिसावले सभामुखको नै हो,के गर्नुपर्छ त्यसको लागि म तयार छु, तर सरकार, सभामुख, विपक्षी दलको नेताको र समस्त सांसदहरु सबैको दायित्व हुन्छ।’
उनले आफूले तटस्थ, निष्पक्ष र स्वतन्त्र भूमिका खेल्ने बताए।
‘सभामुखको जिम्मेवारी प्राप्त भइसकेपछि कहीँकतै मैले पनि बल त गरेको छु, तटस्थ, निष्पक्षी र स्वतन्त्र भूमिका खेल्नका लागि मैले संविधान र खासगरी प्रतिनिधिसभाको नियमावलीमा टेकेरै आफ्ना कार्य सम्पादन गर्नुपर्छ,’ उनले भने, ‘मैले फेरि फर्केर सबै कामको समीक्षा गर्ने कुरा हुन्छ, उहाँहरुले पनि समीक्षा गर्नुहुन्छ भन्ने आशा छ, हामी सबैले समीक्षा गरौँ र सकारात्मक सोचका साथ संवाद थालौँ, जतिसुकै ठूलो समस्या भएपनि संवादको विकल्प छैन, समन्वय, सहकार्य र समझदारी नै हो।’
उनले कात्तिक ९ गतेको बैठकसम्ममा सकारात्मक वातावरण बन्छ भन्नेमा आफू आशावादी भएको बताए।
‘हाम्रो संसदमा अहिले अलिकति समस्याहरु देखिएको छ, अवरुद्ध भइरहेको छ। १५ दिनको समय पनि छ, कार्तिक ९ गतेको बैठकसम्म सकारात्मक वातावरण बन्छ भन्नेमा म आशावादी छु’ उनले भने।
सभामुख सापकोटाले राजनीतिमा आग्रह, पूर्वाग्रह हुनु सामान्य भएको बताउँदै प्रतिशोध साँच्न नहुने र विजया दशमीले सकारात्मक सोचको विकास गराउने विश्वास लिए।
सभामुख सापकोटाले संसदमा सभामुखले प्रभावकारी भूमिका नखेलेको भन्दै संचारमाध्यमहरुमा आएको कुरा सही नभएको बताए।
संवेदनशील विषयहरु अगाडि बढाउन आफूले नरोकेको र सहजीकरण नै गरेको बताए।
संसद लोकतन्त्रको आत्मा भएको बताउँदै उनले सभामुख र सांसदहरुको भूमिका बढाउन आवश्यक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।