फाइल तस्बिर
काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सीमा समस्यालाई कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन्।
मंगलबार न्यूज एजेन्सीसँगको कुराकानीमा सहमहामन्त्री महतले भारत भ्रमणका क्रममा आफूहरुले सीमा समस्यालाई सम्वाद र कूटनीतिक रुपमा समाधान गर्ने बारेमा छलफल भएको बताएका हुन्। उनले भारत भ्रमणका क्रममा व्यापार घाटाको समस्या, महाकाली तुइन प्रकरण र कोभिशिल्ड सप्लाइको बारेमा छलफल भएको बताए।
उनले महाकालीमा भारतीय एसएसबीका जवानले तुइन काटीदिँदा नदीमा बेपत्ता भएका जयसिंह धामीको बारेमा भारत सरकारले छानबिन गरेर निष्कर्षमा पुग्नुपर्ने कुरा राखेको र यसमा भारत सरकारले चासो देखाएको बताए। उनले भारत भ्रमणका क्रममा आफूले नेपाल सरकारको तर्फबाट राख्नुपर्ने मुख्य कुराहरु र मुद्दाहरु उठाएको बताए। भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटमा आफूले दुवै देशको हितका विषयमा चर्चा भएको बताए।




‘उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको राष्ट्रियता बलियो हुनुपर्छ र मात्र भारतको हीतमा छ भन्नुभयो, नेपाललाई सहयोग गर्न म तयार छु भन्नुभएको छ, समग्रमा मलाई लाग्छ, भ्रमणलाई भारतीय जनता पार्टीले उच्च महत्व दिएको छर। नेपाल र नेपाली कांग्रेस पार्टीसँग महत्त्वपूर्ण र निकट सम्बन्ध राख्न चाहेको, नेपालको सरोकारका विषयहरु, चासो र चिन्ताका विषयहरुलाई उच्च प्राथमिकताका साथ सुनेको र त्यसलाई गम्भीरताका साथ लिएको मैले पाएँ,' सहमहामन्त्री महतले भने, 'हामीले पनि हामी सम्बन्धित निकायमै कुरा राख्छौँ, सडकमा बोल्दै हिँड्दैनौँ भन्यौँ। नेपाली जनतासँग जोडिएका कुरा हेर्नुपर्छ भन्दा उहाँहरुले अहिलेको भेटघाटमा अति महत्त्वका साथ र गम्भीरताका साथ हाम्रो कुराहरुलाई लिएको कतिपय कुराहरुलाई तत्काल सम्बोधन गर्ने कुराहरु भएकोले भ्रमण फलदायी पाएँ। कोभिशिल्ड सप्लाई, तुइन प्रकरण, उनीहरुले त्यहाँ हामी संलग्न थिएनौँ भन्ने आयो।’
उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कूटनीतिक पहल नै नगरेको बताउँदै आफूले भारत सरकारसँग कूटनीतिक पहल सुरु गरेको बताए। उनले पूर्वसरकारले जनतातिर मात्रै फर्केर ठूलो स्वरले कराएको तर सरकारी तहमा कुनै कूटनीतिक पहल नगरेको आरोप लगाए। उनले नेपाली कांग्रेस तर्क, तथ्यांक र आधारमा विश्वास राख्ने भएको बताउँदै अब कूटनीतिक पहलद्वारा समस्या समाधान हुँदै जाने बताए।
सहमहामन्त्री महतले भारतीय जनता पार्टी (भाजपा) सँगको सम्बन्धले नेपाली कांग्रेस र देशलाई नै सकारात्मक हुने बताए। कतिपय सम्बन्ध नेपालले बुझाउन नसकेर पनि समस्या आएको भन्दै उनले भारतसँग राम्रो सम्बन्ध बनाउन सम्वाद आवश्यक रहेको बताए।
बडा दशैँ, तिहार र छठ पर्वपछि प्रधानमन्त्रीको भारत भ्रमण हुनसक्ने उनले बताए। नेपालको राष्ट्रियता बलियो बनाएर अघि बढ्नुपर्ने र त्यसमै भारतको हित हुने बताए। प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँगको सम्बन्ध सुधारका चासो दिइरहेका छन्। भारत भ्रमणमा सहमहामन्त्री महतसहित उदय शमशेर राणा र विजय चौरसियाको टिमले भाजपाका राष्ट्रिय महासचिवहरु अरुण सिंह, राजु विष्ट, प्रवक्ता सुधांशु त्रिवेदी, महिला मोर्चाकी राष्ट्रिय अध्यक्ष भनाथी श्रीनिवासन र विदेश विभागका प्रमुख विजय चौथाइवाल लगायतका नेताहरुसँग भेट गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।