काठमाडौं- गोरखा दरबारबाट ल्याइएको फूलपाती हनुमान ढोकास्थित दशैँघरमा भित्र्याइएको छ।
हिन्दूहरुको महान पर्व बडा दशैँको सातौँ दिन गोरखा दरबारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान ढोकास्थित दशैँघरमा भित्र्याइएको हो।
आज बिहान ८:२५ को साइतमा गोरखा दरबारबाट निकालिएको फूलपाती अपराह्न साढे ४ बजे बाजागाजासहित दशैँघरमा भित्र्याइएको छ।
अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका र हलेदो फूलपातीका रुपमा दशैँघरमा भित्र्याइएको हो। नवपत्रिकाको नामले चिनिने फूलपाती नौ देवीको प्रतिकका रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार देवीको आराधना गर्ने र शक्ति ग्रहण गर्ने परम्परा रहेको।
राज्य एकीकरणको अभियानमा पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय पाएपछि काठमाडौंलाई देशको राजधानी बनाएको र त्यसपछि गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमान ढोका ल्याउने प्रचलन सुरु भएको बताइन्छ।




तस्बिरहरु: रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।