काठमाडौ- पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको भन्दै आलोचना गरेका छन्।
दशैंको अवसर पारेर एक भिडियो सन्देश जारी गर्दै पूर्व राजा शाहले नेपाली समाज सनातनिक आदर्श र पुर्ख्यौली पौरखबाट पृथक नभएको बताउँदै राजनीति र राजकाजी चालचलन त्यस अनुरुप हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
'लोककल्याणका हेतु, राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनु पर्ने हो। तर, राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको छ' शाहले प्रश्न गरेका छन्, 'कोरोनाको महामारी, अनेक प्राकृतिक विपत्ति, वेरोजगारी, महंगी र अस्थिरताको भुमरीमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त?'
कुनै पनि परिवर्तनको मर्म देशसँग अन्तर सम्बन्धित हुने भन्दै शाहले त्यसको प्रभाव जनताले आफ्नो दैनिक जीवनमा अनुभूत गर्न सक्नु पर्ने बताए।
'दुर्भाग्यबस शिक्षा तथा स्वास्थ्यको व्यापारीकरण, विकास निर्माणका कामको भ्रष्टिकरण, प्रशासनिक र राजनीतिक पेशाले सिमित व्यक्तिलाई फाइदा पुऱ्याउने र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निरासाको बादल छाएको छ' उनले भनेका छन्, 'त्यसै गरि सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म संस्कृति संकटमा पार्ने, राष्ट्र हितमा केन्द्रित रहनु पर्ने परराष्ट्र नीति असन्तुलित भई राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौती थपिएकोले हाम्रो मन पोलेको छ।'
हरेक नेपालीलाई आफ्नो स्वतन्त्र विचार र आस्थाको अधिकार भएको भन्दै उनले भनेका छन्, 'राजसंस्था वैचारिक आस्थाका आधारमा विभेद गर्दैन त्यो हाम्रो मान्यता पनि होइन न त परम्परा। शाहवंशीय राज पदद्धिको इतिहासले स्पष्ट गरेको छ, राष्ट्रिय आवश्यकता र जन चाहनाको परिधि बाहिरबाट कुनै पनि समस्याको समाधान खोजेको छैन, खोज्दैन पनि।'
पूर्व राजा शाहले देशभक्ति र राष्ट्रप्रतिको भावना मानिसमा दबेको भएपनि नामेट हुन नसक्ने भन्दै योग्य समयमा समुचित तरिकाबाट त्यो प्रस्फुटित हुने बताएका छन्।
'केहि समय यता जिम्मेबार एवं देशभक्त नागरिकहरुबाट राष्ट्रको चिन्ताले व्याकुल भई व्यक्त विचारहरुलाई हामीले राष्ट्रिय अनुराग र निष्ठा मात्र प्रकट गरेको नभई, आम नेपालीमा राष्ट्रवादी चेतको सञ्चारसमेत गराएको रुपमा बुझेका छौं' भिडियो सन्देशमा उनले भनेका छन्, 'देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेबारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने बोध हामीले गरेका छौं।'
प्रजातान्त्रिक, प्रगतिशिल या अन्य जुनसुकै बिचारप्रति आस्थावान भए पनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वाश आफूले लिएको उनले बताएका छन्।
'अतितका गौरवपूर्ण विधि व्यवस्थालाई सम्झेर विद्यमानका नमिल्दा स्थितिलाई सुधार्ने सकारात्मक र देश सुहाउँदो राजनीति, राज्य व्यवस्थाका सबै कृयाशिल शक्तिहरुबाट सही सोच राख्नु देश र जनताको हितमा उपयुक्त अनुभूति हो भन्ने हाम्रो धारणा छ। देशभन्दा माथि हामी कोही पनि छैनौं' शाहले भिडियो सन्देशमा भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।