काठमाडौं– इजरायलमा केयर गिभरमा जान इच्छुक श्रमिकमध्ये इजरायलले नेपालबाट लैजाने १ हजार १७५ जना कामदार छनोट गरेको छ। इजरायलले विभिन्न चरण पार गरिसकेका योग्य १ हजार नेपालीलाई लैजाने गरी गोलाप्रथाबाट छनोट गरेको हो।
वैदेशिक रोजगार विभागले केही समय अघि इजरायल जान चाहनेका लागि लिएको परीक्षाबाट छनोट प्रक्रियामा विभिन्न चरण पार गरी १ हजार ६ सय नेपालीलाई सूचीकृत गरिएको थियो। सूचीकृतमध्ये १ हजार जनाको नाम मंगलवार गोलाप्रथाबाट छनोट गरिएको हो।
इजरायलको जेरुसेलममा गरिएको गोलाप्रथाबाट छनोट भएका नेपालीको नाम वैदेशिक रोजगार विभागमा पठाइसकेको छ। इजरायली पक्षबाट १ हजार १७५ जना नेपालीको नाम छनोट गरी आइसकेको वैदेशिक रोजगार विभागले जनाएको छ। छनोट भएका व्यक्तिहरू मेडिकल परीक्षण र प्रहरी रिपोर्ट आएपछि इजरायल जान तयार हुने विभागले बताएको छ।
छनोट भए पनि मेडिकल परीक्षणको रिपोर्ट र प्रहरी रिपोर्ट गलत आएमा इजरायल जान नपाउने विभागले जनाएको छ।
मंगलवार भएको भर्चुअल कार्यक्रममा काठमाडौंबाट सहभागी भएका नेपालका लागि इजरायली राजदूत हनान गोडरले १ हजार नेपाली लैजाने काम अघि बढेको र यसबाट दुवै मुलुकका नागरिक लाभान्वित हुने बताए। उनका अनुसार इजरायलले नेपालबाट मुख्य कामदारलाई सहयोग गर्ने सहायक कामदारका रूपमा लैजान १ वर्षअघि प्रक्रिया थालेको थियो।
उक्त प्रक्रियामा सुरूमा ९ हजार ७ सय नेपालीले आवेदन दिएका थिए। अंग्रेजी भाषाको जाँच, अध्ययन गरेको दस्तावेजलगायत अन्य प्रक्रिया पूरा गरेर १ हजार ६ सय जना छनोट भएका हुन्। तीमध्ये गोलाप्रथाबाट १ हजारलाई छनोट गरिएको हो। यो गोलाप्रथा सबैभन्दा पारदर्शी प्रक्रिया रहेको राजदूत गोडरले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।