तस्वीर– अमृत गुरुङको फेसबूकबाट
काठमाडौं– कास्कीको पोखराबाट पर्यटकीय क्षेत्र अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। गाडीमा सवार ९ जना (चालकसहित) मध्ये ८ जनाको मृत्यु भएको हो।
पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप दिउँसो २:०० बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा सडकबाट अन्दाजी ११० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा पुगेका अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिम बहादुर गुरुङले दुर्घटनामा ८ जनाको मृत्यु भएको जानकारी दिए। नेपाल लाइभसँगको कुराकानीमा गुरुङले भने, 'सडक अलि अप्ठेरो भएको ठाउँबाट जीप भिरमा खसेको छ। ९ जना सवार रहेकामा ८ जनाको मृत्यु भएको छ। १ जना महिला (युवती) भिरमा अड्किएर बाँच्न सफल भएकी छन्।'
वडाध्यक्ष गुरुङका अनुसार गाडीमा दशैंको बिदाका बेला घान्द्रुक जान हिँडेका 'पर्यटकहरु' थिए। 'काठमाडौंका केही युवाहरु दशैंको बिदामा घान्द्रुक जाने भनेर पोखराबाट गाडी रिजर्भ गरेर आएको बुझिएको छ,' गुरुङले भने।
मृत्यु हुनेमा चालकसहित ६ जना पुरुष र २ जना महिला छन्। घाइते महिलाको उद्दार गरेर उपचारका लागि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।