पोखरा– कास्कीको पोखराबाट पर्यटकीय क्षेत्र अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप दुर्घटना भएको छ। दुर्घटनामा ८ जना गम्भीर भाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप दिउँसो २:०० बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा सडकबाट अन्दाजी ११० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
जीपमा चालकसहित १० यात्रु सवार रहेका र ८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। स्थानीयवासीका अनुसार १ जनाको उद्धार गरिएको छ। स्थानीयले केहीको मृत्यु समेत भएको बताएका छन्। एक जनाको उद्धार जारी रहेको बताइन्छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले दुर्घटनाको जानकारीपछि प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिए।
उनले भने, 'दुर्घटनामा परेर केहीको मृत्यु भएको भन्ने जानकारी आएको छ, हामी घटनास्थलतर्फ जाँदैँछौं, अस्पताल ल्याएपछि मात्र अवस्था थाहा होला।' घटनाको विस्तृत विवरण आउन बाँकी छ।
स्थानीय प्रहरी तथा स्थानीयवासीले घाइतेको उद्धार गरी अस्पताल ल्याउँदै गरेको अन्नपूर्ण–११ का वडाध्यक्ष हिम गुरुङले जानकारी दिए। जीप रिजर्भ गरेर घुम्नका लागि आएका पर्यटक दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।