काठमाडौं- नेपाली कांग्रेस यति बेला धमाधम महाधिवेशनको तयारी गरिरहेको छ। अहिले क्रमश: तल्लो तहदेखिका अधिवेशन भइरहेका छन्। नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर ९ देखि १३ सम्मको लागि तोकिएको छ। कार्यतालिका प्रभावित भइरहेकाले तोकिएको समयमा महाधिवेशन नहुने संशय पनि छ।
तल्लो तहदेखि नै नेतृत्वको विकास गर्ने उद्देश्यले विधान संशोधन गरेर तलका संरचनामा अधिवेशनको व्यवस्था नवौं अधिवेशनदेखि गरिएको थियो। वडादेखि नै निर्वाचित हुँदै महाधिवेशन प्रतिनिधि चुनिएर आउने प्रजातान्त्रिक प्रक्रिया २०५३ को नवौँ महाधिवेशनबाट सुरु भएको थियो। त्यसअघिका महाधिवेशनमा सभापतिका लागि मात्रै निर्वाचन हुने विधानको प्रावधान थियो।
तत्कालीन समयमा विधान संशोधनमार्फत् पार्टीका संरचनामा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था गरिएको थियो। समयानुकूल विधान संशोधन गरेको कांग्रेसले सोही विधि अवलम्बन गर्दा पछिल्ला दिनमा भने विसंगति भित्र्याएको छ। तल्लो संरचनाको अधिवेशनमा केन्द्र हाबी हुँदा विसंगतिको रुप थप फैलिँदो छ। असल मनसायले गरिएको यसखाले व्यवस्थालाई दुरुपयोग गर्न लागेपछि अधिवेशन प्रभावित हुँदै गएको छ।
तल्लो तहको निर्वाचन गर्ने नयाँ व्यवस्थासँगै नवौँ महाधिवेशनबाट कांग्रेसमा दोस्रो पुस्ता प्रमुख पदमा पुगेको टिप्पणी पनि हुने गरेको छ। कोइराला परिवारबाट सभापतिमा गिरीजाप्रसाद कोइराला आसिन भएसँगै नेतृत्व दोस्रो पुस्तामा पुगेको विश्लेषण हुँदै आएको छ।
कोइराला परिवारको ‘हालिमुहाली’ रहेको कांग्रेसमा ५० को दशकमा गिरिजाको दबदबा थियो। उनको विरोधमा बोल्न तथा प्रतिस्पर्धामा उत्रन कठिन थियो। २०५३ वैशाख २६ देखि २८ सम्म काठमाडौंमा भएको नवौं महाधिवेशनमा कोइरालालाई चुनौती दिने दुई नेता देखिए। चिरञ्जीवी वाग्ले र रामहरि जोशी सभापतिको दाबी गर्दै मैदानमा उत्रेका थिए। वाग्ले र जोशीले कोइरालासँग महाधिवेशनमा भिड्नु आफैंमा चुनौतीपूर्ण थियो।
कोइराला बलशाली रहेको उक्त समयमा वाग्ले र जोशीले जित निकाल्न असम्भवप्रायः थियो। कोइरालाले अर्का दुई उम्मेदवारलाई फराकिलो अन्तरसहित पराजित गरे। कुल खसेको १४१० मतमध्ये ११४४ मत कोइरालाको पोल्टामा पुग्यो। वाग्लेले २५४ र जोशीले १२ मत ल्याएका थिए। कोइरालाले पाएको मत ८१ प्रतिशतभन्दा बढी हो। कोइरालालाई सभापतिमा निर्वाचित गर्ने उक्त महाधिवेशनमा गणेशमान सिंह भने उपस्थित भएनन्।
दशौं महाधिवेशन २०५७ माघ ६–९ सम्म पोखरामा भएको थियो। सभापतिका लागि गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र रामहरि जोशी प्रतिस्पर्धामा उत्रिएका थिए। कोइराला यसअघि पनि सभापति थिए, जोशी अघिल्लो महाधिवेशनमा पनि प्रतिस्पर्धी भएका थिए। तर, देउवा भने नयाँ प्रतिस्पर्धी थिए। १४७७ मतदाता रहेको सो महाधिवेशनमा कोइराला नै सभापतिमा दोहोरिए। उनले ९३६ मत पाए। प्रतिस्पर्धी देउवाले ५०७ मत र अर्का उम्मेदवार जोशीले १० मत मात्र पाए।
११औं महाधिवेशनमा आइपुग्दा नेतृत्वका लागि 'हेभिवेट'ले मात्रै प्रतिस्पर्धा गर्ने परम्परालाई नरहरि आचार्यले तोडिदिए। २०६२ भदौ १४ देखि १७ सम्म भएको महाधिवेशनमा कोइराला र आचार्य भिडे। कांग्रेस विभाजित भएकाले पनि कोइरालासँग प्रतिस्पर्धा गर्ने बलियो उम्मेदवार थिएनन्। तेस्रोपटक सभापति बन्न लागेका उनका लागि आचार्य सहज प्रतिस्पर्धी थिए। १०औं महाधिवेशनले विधान संशोधन गर्दै दुई कार्यकाल भन्दा सभापतिको उम्मेदवार हुन नपाउने व्यवस्था गरेको थियो। १०औं महाधिवेशनपश्चात् मात्रै उक्त व्यवस्था लागू हुने आफू अनुकूलको व्याख्या गरि कोइराला सभापति बनेका थिए। १२१५ मत ल्याएर कोइराला विजयी हुँदा आचार्यले १६५ मत मात्रै पाए।
१२औं महाधिवेशनमा आइपुग्दा कांग्रेस एकीकरण भइसकेको थियो। २०५७ मा सभापतिमा कोइरालासँग प्रतिस्पर्धा गरेका देउवाले १० वर्षपछि पनि कोइराला परिवारका अर्का सदस्यसँग प्रतिस्पर्धा गरे। २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौंमा भएको कांग्रेसको १२औं महाधिवेशनमा सभापतिका लागि तीन जना उम्मेदवार थिए। सुशील कोइराला र शेरबहादुर देउवा सभापतिका प्रत्यासीमा स्वाभाविक अनुहार थिए। तेस्रो अनुहारमा देखिए- भीमबहादुर तामाङ। कोइराला पहिलो चरणमै विजयी भए। उनले १६५२ मत प्राप्त गर्दा अर्का प्रत्यासी देउवाले १३१७ र तामाङले ७८ मत पाएका थिए।
१३औं महाधिवेशनमा सभापतिका स्वाभाविक उम्मेदवार देउवा थिए। तत्कालीन संस्थापन पक्षबाट सभापतिका प्रत्यासी बने रामचन्द्र पौडेल। तेस्रो धारको रुपमा उदय भयो कृष्णप्रसाद सिटौलाको। पहिलो चरणको निर्वाचनमा देउवाले १५६४ मत पाए। उनलाई बहुमतका लागि थप ११ मत आवश्यक थियो। दोस्रो स्थानका पौडेलले ११६० र तेस्रो भएका सिटौलाले ३२४ मत ल्याए पाए। २०७२ फागुन २४ मा भएको दोस्रो चरणको निर्वाचनबाट देउवाले १८२२ मत ल्याई विजयी भए। दोस्रो चरणमा देउवालाई सिटौला पक्षले साथ दिएको थियो। पराजित पौडेलले १२९६ मत ल्याए।
कांग्रेसको १०औं महाधिवेशनदेखि १३औं महाधिवेशनसम्म विश्लेषण गर्दा शेरबहादुर देउवाले मुख्य पदका लागि १५ वर्षको अनवरत प्रयास पश्चात् सफलता प्राप्त गरेको देखिन्छ। २०५७ माघमा भएको १०औं महाधिवेशनमा सभापतिमा भिडेका उनी २०७२ सालको फागुनमा मात्रै सभापति चुनिएका थिए। एउटा महाधिवेशनको बलमा मात्रै सभापति हुन नसकेको शेरबहादुर देउवाको इतिहास देखिन्छ। र, उनी आसन्न १४औं महाधिवेशनमा पनि सभापति दोहोरिन खोजिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।