काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगोरुपमा समाधान गर्नुपर्ने बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा पत्रकारसँग कुराकानी गर्दै उनले वास्तविक सुकुम्बासीको पहिचान गरी तिनीहरुको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने बताए।
आइतबार बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटना गलत भएको भन्दै उनले सुकुम्बासी समस्या समाधान गर्नतर्फ सरकारका ध्यान केन्द्रित हुनुपर्ने बताए। सुकुम्बासी समस्या समाधानका लागि सरकारको स्पष्ट नीति नहुँदा समस्या भएको उनले बताए। ‘वास्तविक सुकुम्बासी पहिचान गरौं,’ उनले भने, ‘तितरवितर पार्नु समस्याको समाधान होइन।’
फरक प्रसंगमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले विगतमा एकखाले प्रवृत्तिले व्यवस्था पल्टाउने, संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्टाउने, संविधान खतरामा पर्ने दिशातर्फ गएको भन्दै अहिलेको सरकारको गतिविधि त्यसभन्दा फरक हुनुपर्नेमा जोड दिए।
उनले भने, ‘अहिलेको सरकारको गतिविधि पहिलाको भन्दा फरक भएन भने जनतामा निराशा आउँछ।’ प्रतिगमनविरुद्ध सङ्घर्षबाट बनेको सरकार भएकाले यो सरकार पूर्ण कार्यकाल चल्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।