काठमाडौं– स्याङ्जाको वालिङ नगरपालिका–१० मदी खोलामा आइतबार साँझ भएको जिप दुर्घटना परी दुई जनाको मृत्यु भएको छ। वालिङबाट गल्याङ नगरपालिका–१० लाखुडाँडातर्फ जाँदै गरेको ग१ज ४९१८ नंको जिप कच्ची सडकबाट ५० मिटर तल खसेको थियो।
दुर्घटनामा परी जिपमा सवार गल्याङ नगरपालिका–१० का ७७ वर्षीय दलबहादुर पल्ली र सोही ठाउँका ३२ वर्षीया गङ्गा पल्लीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए। जिपमा १९ जना यात्रु सवार रहेको उनको भनाइ छ।
उकालो कच्ची सडकमा जिप अनियन्त्रित भएर दुर्घटना हुँदा जिपमा सवार गल्याङ नगरपालिका–१० का ४ वर्षीया करिष्मा थापा, २६ महिनाकी अर्चल विक, २५ वर्षीय रामबहादुर पल्ली, ३ वर्षीय किरण पल्ली र २४ वर्षीया तिर्सना घाइते भएका छन्।
त्यस्तैगरी गल्याङ–१० कै ५५ वर्षीय रामबहादुर पल्ली, २२ वर्षीया विष्णु थापा, २७ वर्षीय अर्जुन थापा, ६० वर्षीया हुमा पल्ली, ५६ वर्षीया रीता गाहा, दुई वर्षीय एञ्जल गाहा, २२ वर्षीया पुष्पा पल्ली, ५५ वर्षीया भीमकुमारी पल्ली, तीन वर्षीया यमना पल्ली, ५५ वर्षीया लीलाकुमारी पल्ली, वालिङ नगरपालिका–१० बझाकोटकी २४ वर्षीया सपना थापा र दुई वर्षीय नवीन थापा घाइते भएका छन्।
मध्यम घाइते भएका ६ जनालई थप उपचारका लागि पोखरा लगिएको छ भने सामान्य घाइते भएकाहरूको अहिले गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचार भइरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए।
प्रहरीले चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ। घाइते हुनेमा दशैंको बेला वालिङ बजारबाट गाउँतर्फ फर्केका अधिकांश एउटै वडाका बासिन्दा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।