काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको कुण्डलीमा वामपन्थी सरकार रहेको भन्दै त्यो सरकार मंसिरपछि गठन हुने बताएका छन्।
काठमाडौंमा भएको एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा ओलीले कुण्डलीमा लेखिएको कुरा नमेटिने भन्दै आगामी चुनावपछि अत्यधिक बहुमतसहितको वामपन्थी सरकार बन्ने दाबी गरे।
'देशको जन्मकुण्डलीमा २०७४ सालमा वामपन्थी सरकार लेखिएको छ, अत्यधिक बहुमतको सरकार बन्छ,' उनले भने।
एउटै चुनाव चिह्नमा निर्वाचनमा जान प्राविधिक कठिनाइ रहेपनि पार्टी एकीकरणको सहमतिपछि त्यसमा पुनः प्रयास गर्ने बताए। उनले नयाँ शक्ति भने सूर्य चिह्नबाटै आगामी चुनावमा लड्ने जानकारी गराए।
अध्यक्ष ओलीले एउटै कम्युनिस्ट पार्टी निर्माणका लागि यो ऐतिहासिक सहमति भएको बताए। पार्टी एकीकरणका लागि ३ पार्टी एक ठाउँमा उभिएको उनले जनाए। उनले भने, 'एमाले, माओवादी केन्द्र र नयाँ शक्ति एउटै पार्टी निर्माणको दिशामा तपाईंहरुलाई साक्षी राखेर उद्घोष गर्न चाह्नछौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।