काठमाडौं– नेकपा मसाल निटक विद्यार्थी संगठन अखिल छैठौंमा समानान्तर कमिटी गठन भएको छ। रुपन्देहीको बुटवलमा आयोजित २२औं राष्ट्रिय सम्मेलनको भेलामा विवाद उत्पन्न भएपछि 'असन्तुष्ट पक्ष'ले समानान्तर कमिटी घोषणा गरेको हो।
२२ औं राष्ट्रिय सम्मेलनको भेलाबाट संस्थापन पक्षले देवेन्द्र कुँवरको नेतृत्वमा ३५ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको थियो। त्यसको विरुद्धमा महेशराज जोशीको नेतृत्वमा धनगढीबाट ३१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको हो।
दुवै पक्षले आफूहरु आधाकारिक भएको दाबी गरिरहेका छन्। निवर्तनमान अध्यक्ष विमल पोखरेल कुँवर नेतृत्वको कमिटीको पक्षमा छन्। उनले कुँवर नेतृत्वकै कमिटी आधाकारिक कमिटी भएको पनि बताए।
'हामीले २२औं राष्ट्रिय सम्मेलनबाट देवेन्द्र कुँवरको नेतृत्वमा ३५ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेका छौं। यही कमिटी नै आधिकारिक हो,’ पोखरेलले भने, ‘महेशराज जोशीको नेतृत्वमा अर्को कमिटी घोषणा भयो भन्ने आइरहेको छ। त्यो यताबाट छाडेर आफ्नै ढंगले बनाएको कमिटी हो। त्यो आधिकारिक होइन।’
पार्टी संगठनको विधि र पद्धतिभन्दा बाहिर गएर घोषणा गरिएको कमिटीको कुनै हैसियत नहुने पनि पोखरेलको भनाइ छ।
संस्थापनपक्ष बाट कुँवरको नेतृत्वमा घोषणा गरिएको कमिटीको उपाध्यक्षमा गणेश अधिकारी र नविन पाँण्डे, महासचिवमा सुवास जिसी, कोषाध्यक्षमा प्रतिभा आचार्यलाई चयन गरिएको छ।
यस्तै, जोशीको नेतृत्वमा घोषणा गरिएको कमिटीको उपाध्यक्षमा मनिसा शर्मा, महासचिवमा उमेश कँडेल, सचिवमा अशिस जवेगु, कोषाध्यक्षमा प्रतिभा शर्मालाई चयन गरिएको छ। जोशीको नेतृत्वमा ३१ सदस्यीय कमिटी बनाएको छ।
नेकपा मसालमा नेताहरुबीच विवाद बढेपछि त्यसको असर विद्यार्थी संगठनमा परेको एक नेताले बताए। पार्टी महामन्त्री मोहनविक्रम सिंहविरुद्ध अरु नेताहरु लागेपछि विवाद बढ्दै गएको हो।
सिंहले पार्टींमा एकाधिकार लादेर स्वेच्छाचारी ढंगले काम गरेको भन्दै अरु नेताहरु उनीविरुद्ध लागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।