प्रहरी र स्थानीयबीच झडप भएको बुटवलको मोतीपुर क्षेत्र, तस्वीर सौजन्य– लुम्बिनी टाइम्स
काठमाडौं– रुपन्देहीको बुटवलअन्तर्गत मोतीपुर औद्योगिक क्षेत्रमा सशस्त्र प्रहरीले गोली चलाएको छ।
सुकुम्बासीका नाममा औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने खोज्नेहरुलाई हटाउने क्रममा झडप भएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रहरीले दाबी गरेको छ।
गत फागुनमा शिलान्यास गरिएको औद्योगिक क्षेत्रमा अतिक्रमण बढेको भन्दै सरकारले अस्थायी रुपमा सशस्त्र प्रहरीलाई बसाउने निर्णय गरेको थियो।
सरकारको निर्णयानुसार अनुसार सशस्त्र प्रहरीले ठाउँ खाली गराउने क्रममा आइतबार जग्गामा बस्दै आएकाहरु विरोध प्रदर्शनमा उत्रिएका थिए।
प्रदर्शनकारीले ढुंगा–मुडा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन केही राउण्ड फायर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज केसीले जानकारी दिए।
एसपी केसीका अनुसार झडपमा केही व्यक्ति घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिए पनि संख्या भने यकिन हुन नसकेको उनको भनाइ छ।
सरकारले २०७२ सालमा बुटवल उप–महानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउने घोषणा गरिएको थियो। उद्योगिक क्षेत्रको गत फागुनमा शिलान्यास समेत भएको थियो।
तर, उद्योगिक क्षेत्रको जग्गा भने सुकुम्बासीका नाममा अतिक्रमण गर्ने क्रम बढेपछि सरकारले अस्थायी रुपमा त्यहाँ सशस्त्र प्रहरी बसाउने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।