काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। मुख्यमन्त्री केसीले नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाट मन्त्रीहरु थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
नेपाली कांग्रेसले ३ जना मन्त्री र २ जना मन्त्रीको नाम टुंग्याएपछि मुख्यमन्त्री केसीले मन्त्रपरिषद् विस्तार गर्न लागेका हुन्। नवनियुक्त मन्त्रीहरुले आइतबार ३ बजेतिर शपथ लिने गरी तयारी गरिएको मुख्यमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ।
नेपाली कांग्रेसले वीर बहादुर रानालाई उर्जा, जलस्रोत तथा सिँचाइ, सुरेन्द्र हमाललाई वन, वातावरण तथा भू संरक्षण र वसिउद्धिन खाँलाई शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने गरी सरकारमा पठाउने निर्णय गरेको छ। यस्तै, अर्जुन कुमार श्रेष्ठ र रीना नेपाल विक राज्यमन्त्रीका रुपमा सरकारमा पठाउने निर्णय कांग्रेसले गरेको छ।
नेकपा माओवादी केन्द्रले भने केही दिन अगाडि नै मन्त्रीहरुको नाम टुंग्याएको थियो। माओवादी केन्द्रबाट ईन्द्रजित थारु र तिलकराम शर्मा मन्त्री तथा विमला केसी ओली राज्यमन्त्री बन्ने भएका छन्।
नेकपा एकीकृत समाजवादीकी रमा घर्ती पनि सरकारमा मन्त्री बन्ने भएकी छन्।
गत साउन २८ गते शपथ लिएका मुख्यमन्त्री केसीले ६ जना मात्रै मन्त्री नियुक्त गरेर सरकार चलाउँदै आएका थिए। मुख्यमन्त्री नियुक्त भएको २ महिनापछि केसीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।