काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबार सरकार विस्तार गर्ने भएका छन्। नेपाली कांग्रेसबाट मन्त्री बन्नेको टुंगो लागेमा आइतबार अपराह्नसम्म सरकार विस्तार हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
लुम्बिनी प्रदेश सरकारमा माओवादी केन्द्रबाट २ मन्त्री र १ राज्यमन्त्री तथा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाट १–१ जना मन्त्री थपेर आइतबार मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो।
माओवादी केन्द्रबाट ईन्द्रजित थारु र तिलकराम शर्मा मन्त्री तथा विमला केसी ओली राज्यमन्त्री बन्ने भएका छन्। यस्तै, नेपाली कांग्रेसबाटभने सुरेन्द्र हमालको नाम मात्रै 'फाइनल' भएको बताइएको छ। कांग्रेसबाट अरु पनि मन्त्री थपिने भएपनि अन्यको नाम भने टुंगो लागेको छैन।
नेकपा एकीकृत समाजवादीबाट भने रमा घर्तीलाई मन्त्री बनाउने तयारी गरिएको छ।
मुख्यमन्त्री केसीले शुक्रबार नै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका थिए। तर, नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद् विस्तार रोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।