काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला अधिवेशन गर्ने समय थप गरेको छ। राप्रपाले तोकिएको समयमा जिल्ला अधिवेशन गर्न नसकेपनि फेरि म्याद थप्ने निर्णय गरेको हो। पार्टी अध्यक्षत्रय डा प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर राणा र कमल थापाको उपस्थितिमा बसेको केन्द्रीय समितिको विशेष बैठकले जिल्ला अधिवेशनको म्याद कात्तिक १४ गतेसम्म थप गर्ने निर्णय गरेको हो।
यसअघि राप्रपाले असोज २० गतेसम्म जिल्ला अधिवेशन गर्ने म्याद पछिल्लो समय थप गरेको थियो। तर सो अवधिमा ५२ जिल्लाको मात्रै अधिवेशन सम्पन्न भएको छ।
यस्तै बैठकले सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्री गर्ने म्याद कार्तिक १० गतेसम्मका लागि थप गर्ने निर्णय पनि गरेको केन्द्रीय सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन कात्तिक ११ देखि १७ गतेसम्म र ७ वटै प्रदेश कार्य समितिको अधिवेशन गर्न कात्तिक २३ गतेसम्म समय थप गर्ने निर्णय पनि बैठकले गरेको छ।
प्रदेश २ का साथै भक्तपुर र पाँचथर जिल्लाको हकमा सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्री गर्ने म्याद कात्तिक १५ गतेसम्म, प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन १७ गतेसम्म र जिल्ला अधिवेशन २०७८ कार्तिक २३ गतेसम्म निर्णय पनि बैठकले गरेको छ । परिमार्जित महाधिवेशन कार्यतालिका कार्तिक १ बाट लागु हुने विज्ञप्तिमा उल्लेख छ ।
राप्रपाले कात्तिक २७, २८, २९ र ३० गते काठमाडौंमा महाधिवेशन गर्ने तयारी गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।