शुक्रबार मात्रै नियुक्त भएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट मन्त्री बनेको भन्दै उनी विवादित बनेका थिए। आफू राजनीतिक रुपमा विगतमा कहिल्यै विवादित नबनेको तर अहिले विवादमा परेकोले राजीनामा दिन लागेको उनको भनाइ छ। उनले आफूले पद छाडिसकेको र औपचारिकताको लागि आइतबारै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाउने बताए। राजीनामाको सन्दर्भमा उनीसँग नेपाल लाइभले संक्षिप्त कुराकानी गरेको छः
राजीनामा दिने निर्णयमा पुग्नुभएछ। किन?
राजीनामा दिनका लागि मलाई कसैले केही भनेका होइनन्। तर म मन्त्री बनेपछि सञ्चार माध्यममा विवादित बनेको देखेँ। त्यसपछि मैले आफ्नो नियुक्तिको विषयमा सोचेँ। अस्ति मन्त्री बनेपछि अस्ति, हिजो र आज निकै सोचेँ।
पार्टीका नेताहरुसँग कुनै सल्लाह गरेकोचाहिँ थिइनँ। बरु मेरो भाइसँग सल्लाह गरेँ। त्यसपछि मेरो अन्तरआत्माले पनि ‘अब छाड्’ भन्यो। त्यसकारण मैले मन्त्री पद छाड्ने निर्णय गरेँ।
पत्रकारहरुले थाहा पाइहाल्नुभयो। सञ्चार माध्यममा आएका समाचार पनि प्रधानमन्त्री शेरबहादुरज्यूले पनि थाहा पाउनुभयो होला। त्यसैले अब मैले छाडेँ। यो मेरो विशुद्ध अन्तरआत्माको निर्णय हो।
विरोध हुँदैमा पद छाडिहाल्नुपर्थ्यो र? विरोध त मन्त्री बन्नुअगाडि पनि भएकै थियो। त्यतिबेला किन पद स्वीकार गर्नुभयो त?
हेर्नुस्, लामो समयसम्म राजनीति गर्न म कहिल्यै पनि विवादमा परेको थिइनँ। मेरो निर्णयलाई लिएर कहिल्यै विरोध पनि भएको थिएन। म पद र पैसाको पछाडि कुद्ने मान्छे पनि होइन। मेरो राजनीतिक विगत, पारिवारिक पृष्ठभूमि सबै हेरेर होला, शेरबहादुरज्यूले मन्त्री बन्नुपर्यो भनेर बनेको हुँ।
तर मलाई मन्त्री बनाएकोमा उहाँलाई पनि अप्ठ्यारो पर्ने देखियो। म पनि थप विवादमा पर्दै जाने देखेँ। विवादमा नपरौं भन्ने मेरो उद्देश्य हो। त्यसैले पद छाड्ने निर्णयमा पुगेँ।
प्रधानमन्त्री शेरबहादुर देउवाले त्यत्रो जोडबलका साथ तपाईंलाई मन्त्री बनाउनुभएको छ। राजीनामा स्वीकृत गर्नु होला र? कुनै तरिकाले तपाईंलाई फकाएर पदमै राख्नुहुन्छ कि?
प्रधानमन्त्रीज्यूले के गर्नुहुन्छ, थाहा छैन। तर मैले छाडिसकेँ। छाडेको मान्छेलाई अब उहाँले कसरी राख्न सक्नुहोला र? मैले अब उहाँलाई भेटेर राजीनामा बुझाउने मात्रै हो, निर्णय त मैले गरिसकेँ। त्यसैले राजीनामा पत्र बुझाउने भनेको औपचारिकताको लागि मात्रै हो। अन्तरआत्माको निर्णय नै मुख्य हो।
त्यसैले मेरो राजीनामा स्वीकृत वा अस्वीकृत हुनुको अर्थ छैन। आजै राजीनामा बुझाउँछु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।