काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट मन्त्री बनेको भन्दै विवादित भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने भएका छन्।
उनले आइतबारै राजीनामा दिने तयारी गरेका छन्। आफू विवादमा फस्न नचाहेकाले उनले पदबाट राजीनामा दिन लागेको उनका भाइ विजेन्द्र हमालले बताए।
कांग्रेसका पुराना नेता भएता पनि उनी सांसद् थिएनन्। तर, प्रधानन्यायाधीश राणाको आफन्त भएको र उनलाई पनि मन्त्रिपरिषद्मा कोटा छुट्याएको भन्दै हमाल मन्त्री बन्नुअघि नै विवाद सुरु भएको थियो। तर, विवादका बाबजुद प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई मन्त्री बनाएका थिए।
राजिनामा दिन लागेकाे कुरा उनले पनि स्वीकारे। आफ्नाे कारणले सरकार तथा प्रधानमन्त्री शेरबहादुर देउवालई कुनै अप्ट्याराे नहाेस् भनेर आफूले राजिनामा दिन लागेको उनको भनाइ छ। 'मलाई शेरबहादुरजीले मन्त्री बनाएको हो, उहाँलाई सहयोग होस् भनेर राजीनामा दिने निधो गरेँ,' उनले नेपाल लाइभसँग भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।