गत शुक्रबार मन्त्रिपरिषद् विस्तार हुनुअघि मन्त्री बन्ने चर्चामा थिए, जसपा सांसद् प्रमोद साह। तर, अन्तिममा उनको नाम हटाइयो र महेन्द्र राय यादवलाई मन्त्री बनाइयो। दिनभर आफ्नो नाम मन्त्री बन्नेमा आए पनि अन्तिममा काटिँदा मानमर्दन र बेइज्जत भएको उनको भनाइ छ। जसपा सांसद साहसँग नेपाल लाइभले गरेको कुराकानीको सारसंक्षेपः
तपाईंलाई जसपाबाट मन्त्री बनाउने भनेर निकै चर्चा थियो। तर, अन्तिममा किन बनाइएन?
जसपामा विवाद हुँदा पार्टी नाजुक अवस्थामा थियो। त्यस्तो अवस्थामा जसपा जहाँ आधिकारिक छ, त्यहाँ आउने निर्णय गरियो। पहिलो पटक दुई जना, त्यसपछि सात जना समावेश भयौं। सांसद् संख्या १२ जनाबाट १९ जना पुर्याउन सहयोग गर्यौं। पार्टीमा र देशभर ठूलो चर्चाको विषय बन्यो। त्यसले पार्टीमा जनसमर्थन पनि बढेको थियो। त्यसो गर्न प्रमोद साहले धेरै ठूलो सहयोग गरेको छ। त्यसबारे मिडियाले पनि चर्चा गर्यो। त्यसपछि गठबन्धनको सरकारमा मलाई मन्त्री बनाउने विषय मिडिया र पार्टीमा चर्चा हुन थाल्यो। समुदायगत क्लस्टरका हिसाबले म छाँटिने अवस्था थिएन। म प्रत्यक्ष निर्वाचित भएर आएको सांसद पनि हुँ।
मैले अध्यक्षज्यूलाई मन्त्री बनाउनुस् भनेर कहिल्यै भनिनँ। मैले गर्ने सहयोग गरेँ। स्वाभाविकै रुपमा पार्टीभित्र काम गर्न सम्मानित पद र वातावरण चाहिन्छ। त्यसअनुसार केन्द्रीय सदस्य बनाइयो। तर, मलाई कार्यकारिणी सदस्यमा राखिएन। त्यति बेला पनि असन्तुष्टि जनाइनँ। अहिले मन्त्रिपरिषद् विस्तारमा नाम आइरहेको थियो। मन्त्रीका आकांक्षी धेरै भएपछि अध्यक्षसहित तीन जनालाई जिम्मा दिइयो। उहाँहरुलाई सोचेर निर्णय गर्न सजिलो होस् भन्नेर अधिकार दिइएको थियो। तर, पार्टीले जुन मुद्दा उठाएको हो, त्यसलाई नेतृत्वले ध्यान दिएन। पार्टीले देशको वैकल्पिक शक्ति निर्माण गर्दै सबै जातजाति समुदायको प्रतिनिधित्व हुनेगरी बनाउने भनेको छ। पार्टी नेतृत्वले त्यो रुपमा निर्णय गरेन।
पार्टीको कल्पनामाथि कुठाराघात भएको छ। मलाई मन्त्री बनाइएन भन्ने व्यक्तिगत ठूलो कुरा होइन। तर, जुन सन्देश पार्टीले दिनुपर्थ्याे, त्यो दिन सकेनौं। अहिले चार मन्त्री पठाउँदा त्यहाँ ध्यान दिनुपर्ने थियो। नेतृत्वपंक्तिबाट ध्यान दिइएन। यो पार्टीबाट त्रुटि भयो। नेतृत्वबाट कमजोरी भयो।
पार्टीमा एउटा बडो समस्या छ। पार्टीको नेता नमरुन्जेलसम्म राजनीति नछोड्ने मन्त्री भइरहने भयो। त्यो मैले जसपालाई मात्रै भनेको होइन। अरु सबै पार्टीमा समस्या छ। उमेरले ८० कट्दा पनि चार पटक मन्त्री हुनैपर्ने भयो। जो जनताबाट प्रत्यक्ष जितेर आएको छ, जसले देश र जनताको लागि काम गर्न सक्छ, त्यसलाई जिम्मेवारी दिने कुरै उठ्दैन। यस्तो भइरहेमा युवाहरुले कहिले नेतृत्व पाउँछन्?
त्यसो भए तपाईमाथि पार्टीले अन्याय गर्यो?
पार्टीले ममाथि अन्याय गर्यो वा गरेन त्यो जनतालाई फैसला गर्ने अधिकार छ। जनताले नै फैसला गर्नेछन्। तर, पार्टीले जुन मुद्दा बोकेको छ, त्यसलाई पार्टीले बिर्सनु हुँदैन। वैकल्पिक शक्ति निर्माण गर्नु छ भने सबैलाई समेटेर अगाडि बढ्नुपर्ने हुन्छ।
जसपालाई यादव समुदायको प्रतिनिधित्व गर्ने पार्टी भन्ने आरोप छ। त्यो पुष्टि हुने गरी मन्त्री छनोट गरियो भन्न मिल्छ?
नेतृत्वले पार्टीको नीतिअनुसार सन्देश दिन सक्नुपर्ने थियो। जस्तोसुकै परिस्थिति आए पनि पार्टीमा कुनै विवाद हुँदै भन्ने सन्देश दिनुपर्ने थियो। त्यसमा नेतृत्व चुक्यो। यो भुल भयो। नेतृत्वले भुल गर्ने र चुक्ने अवस्था आएमा आमजनताले विश्वास गर्ने वातावरण बन्दैन। व्यक्तिगत रुपमा मलाई बेइज्जती गर्नु जरुरी थिएन। मेरो बेइज्जत भएको छ। बिहानैदेखि मन्त्री हुनेमा मेरो नाम भयो। अन्तिममा मेरो नाम नहुनु व्यक्तिगत मानमर्दन, अपमान हुने काम भयो। पार्टीमा प्रश्न चिह्न खडा गर्ने काम नेतृत्वबाट भयो। यसले अन्य पार्टीका मान्छेलाई हामीमाथि प्रश्न गर्ने स्पेस दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।