काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले गरिरहेको संसद् अवरोधलाई तमासा भनेका छन्।
शनिबार एकीकृत समाजवादीको काभ्रे जिल्ला कमिटीद्वारा आयोजित पार्टी कार्यालय उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले त्यसलाई केपी ओलीको पराजित मानसिकता उपज मात्रै भएको बताए।
'आज तपाईंहरु सुन्नुहुन्छ, केपी ओलीको प्रत्येक भाषणमा अदालतको मानमर्दन गरिएको हुन्छ। कानुन व्यवसायीको मानमर्दन गरिएको हुन्छ। नागरिक समाजका मान्छेहरुको हुर्मत लिइएको हुन्छ', उनले भने, 'निर्वाचन आयोगदेखि लिएर प्रतिनिधि सभाका सभामुखमाथि विषवमन गरेको देख्नुहुन्छ। संसद्मा तमासा-तमासा-तमासा गर्दै नारा लगाइरहेको देख्नुहुन्छ। केपी ओलीका यी सबै तमासा पराजित मानसिकता उपज मात्रै हो।'
उनले नेकपा एमालेमा आफूहरुले विद्रोही आवाज घन्काउने आँट गरेको बताए। विद्रोह गर्ने सिलसिलामै नेकपा एकीकृत समाजवादी गठन गरेक उनको भनाइ छ।
'कतिलाई लागेको थिएन, संसद्मा हामी अर्को शक्तिको रुपमा उदाउनेछौं, हामीले कानुनी रुपमा मान्यता प्राप्त गर्नेछौं', उनले भने, 'केपी ओलीको निकै ठूलो दबाब परेको थियो। तर, त्यो दबाबलाई कसैले टेरेनन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।