काठमाडौं– बाँकेकी ननकुन्नी धोबी र निर्मला कुर्मीको शंकास्पद मृत्युको घटनाको न्याय माग्दै नेपालगञ्जबाट पैदल यात्रा गरेर काठमाडौं आइपुगेकालाई प्रहरीले पक्राउ गरेको छ।
राजधानीको माइतीघरमा धर्ना दिइरहेका १४ जनामध्ये १३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो। शंकास्पद रुपमा मृत्युको घटनाबारे बाँके प्रहरीले अनुसन्धान नगरेको भन्दै असोज १ गते नेपालगञ्जबाट उनीहरु पैदलै हिँडेका हुन्। टोलीमा ११ महिला र ३ पुरुष गरि १४ जना छन्।
२० दिन पैदल हिँडेर बुधबार काठमाडौं आइपुगेका उनीहरु शुक्रबार माइतीघरमा धर्नामा बसेका थिए।
माइतीघर क्षेत्रमा पाल टाँगेर बसेका उनीहरुलाई प्रहरीले सुरुमा त्यहाँ नबस्न भनेको थियो। पीडितले आफूहरूले न्याय नपाउँदासम्म नउठ्ने भनेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
समूहकी नेतृत्व गरिरहेकी रुबि खानका अनुसार धर्नामा बसेका एक जनाको पेटमा समस्या भएकाले भिडियो एक्स–रे गर्न भनेर वीर अस्पताल लगिएको बताइएको छ।
यस्तै, बाँकी ७ जनालाई पैदल यात्राका क्रममा खुट्टामा लागेको चोटको उपचार गर्न अस्पताल लगिएको बताइएको छ।
पक्राउ परेका अन्यलाई भने भृकुटीमण्डपस्थित पुलिस क्लबमा राखिएको उनले जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।