काठमाडौं- अखिल नेपाल किसान महासंघले जनताको खाद्य सम्प्रभुताको हक सुनिश्चित गर्न माग गरेको छ।
विश्व खाद्य दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमपछि प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रमेश पोखरेलले विज्ञप्ति जारी गर्दै सरकारबाट जनताको खाद्य सम्प्रभुताको हक, नेपाली साना किसान र कृषि अर्थतन्त्रको विरुद्ध भएका षडयन्त्रपूर्ण कदमलाई तत्काल सच्याउन तथा जनताको खाद्य सम्प्रभुताको हक सुनिश्चित गर्न माग गरेका हुन्।
नेपाली किसानहरु जे पहिलेदेखि नै विविध समस्या र चुनौतिको सामना गर्दै आएका थिए, उनीहरुलाई कोरोना महामारी, जलवायु संकट र नवउदारवादी नीतिले थप मारमा परेको महासंघको ठहर छ।
‘केपी शर्मा ओली नेतृत्वको सरकारले किसानको चाहनाविपरीत कृषिका प्राथमिक उत्पादनका क्षेत्रहरुमा विदेशी लगानी भित्र्याउने, जनताको खाद्य सम्प्रभूताको हकलाई बनेको कानुनअनुसार लागु गर्नुपर्नेमा उल्टो साम्राज्यवादीहरुसँगको साँठगाठमा नवउदारवादी निगमीय खेतिको वकालत गर्ने काम गरेको छ,’ महासंघले भनेको छ।
नेपालमा कृषि भुमिको कित्ताकाट खुल्ला गर्ने, भुमि वैंक, करार खेति, कृषिमा प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने, प्रतिबन्धित गरेका अनुवंश परिवर्तित बिउ र खाद्यान्नलाई खुला गर्ने उदेश्यका साथ विभिन्न नीतिकार्यक्रमहरु अघि सारिएको उल्लेख गरिएको छ।
विश्व खाद्य दिवसको सन्दर्भमा विश्वव्यापीरुपमा आयोजना गरिने सप्ताहव्यापी कार्यक्रमहरु अन्तर्गत खाद्य सम्प्रभुताको कार्यान्वयन र किसानहरुका तत्कालिक समस्याहरुको सम्बोधनको दबाबका लागि अखिल नेपाल किसानले आजबाट सप्ताहव्यापी कार्यक्रमहरु आयोजना सुरु गरेको छ। कार्यक्रमको पहिलो दिन आज महासंघले प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम गरेको छ।
नयाँ वानेश्वरबाट सुरु भएको प्रभातफेरि बुद्धनगर पुगेर छलफल भएको थियो। प्रभातफेरि कार्यक्रमलाई महासंघका महासचिव बलराम बास्कोटा र प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रमेश पोखरेलले सम्वोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।