काठमाडौं– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विघटिन नेकपामा प्रचण्ड–नेपाल समूहमा सक्रिय रामकुमारी झाँक्री आन्दोलनमा अग्र पंतिमा थिइन्।
उनले राष्ट्रपतिलाई लक्षित गर्दै सार्वजनिक रुपमा गरेको भाषणको विषयलाई लिएर सरकारले मुद्दा नै चलायो। झाँक्री बुद्धनगरस्थित घरबाट पक्राउ नै परिन। चर्को दबाब पछि उनी छुटिन्। प्रमुख राजनीतिक आन्दोलनमा सक्रिय सहभागी भएकी झाँक्री एमालेको अनेरास्ववियुको अध्यक्ष हुँदै पहिलोपटक मन्त्री बनेकी छन्।
एमाले विभाजन भएपछि बनेको नेकपा एकीकृत समाजवादीको तर्फबाट उनी पहिलोपटक मन्त्री बनेकी हुन्। उनले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएकी छन्।
२०३५ साल जेठ १० गते गुल्मीमा जन्मिएकी झाँक्री प्रष्ट र खरो वक्ताका रुपमा चिनिने गर्छिन। मानविकी संकायमा स्नातकोत्तर गरेकी उनले कानुनमा पनि स्नातक उत्तीर्ण गरेकी छन्। २०७४ सालको निर्वाचनमा उनी नेकपा एमालेको कोटाबाट समानुपातिक सांसद बनेकी हुन्।
एकीकृत समाजवादीमा वरिष्ठ नेताहरुलाई पछि पार्दै झाँक्री देउवा नेतृत्वको सरकारमा १८ औं वरियतामा मन्त्री बनेकी छन्। २०४७ सालमा पृथ्वी मावि गुल्मीबाट अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य हुँदै उनले विद्यार्थी राजनीतिक प्रारम्भ गरेकी थिइन्। विद्यार्थी र महिला फाँटमा विभिन्न भूमिका र नेतृत्वमा रहँदै झाँक्री एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको १९ औं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा निर्वाचित भएकी थिइन्।
नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी झाँक्री अहिले नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिव हुन्।
इतिहास, दर्शन र साहित्य अध्ययनका साथसाथै सार्वजनिक नीति र विकासमा रुचि राख्ने झाँक्रीले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएकी छन्। विद्यार्थी राजनीतिमा 'छुट्टै' स्थान बनाएकी झाँक्रीको सिंहदरबार यात्रा भने कति स्मरणीय र अनुकरणीय हुन्छ, त्यो अबको उनको कामले देखाउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।