काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का नेता विरोध खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलमा खतिवडा छैटौं नम्बरको वरीयतामा छन्।
उनकै नेतृत्वमा एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएको हो। खतिवडाले एमालेमा रहँदा मन्त्री बन्ने अवसर पाएका थिएनन्। २०४८ सालमा पहिलोपटक निर्वाचित बनेका उनी त्यसयता चारपटकसम्म सांसद बने तर, मन्त्री बन्न सकेका थिएनन्।
एमालेबाट छुट्टिएर माधवकुमार नेपाल नेतृत्वमा एकीकृत समाजवादी पार्टी निर्माण भएको डेढ महिनामै खतिवडाले मन्त्री बन्ने अवसर पाएका छन्। खतिवडाले ३० वर्षपछि मन्त्री बन्ने अवसर पाएका हुन्। कोरोना महामारी चलिरहेको चुनौतीपूर्ण स्थितिमा खतिवडाले स्वास्थ्य मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारी पाएका छन्।
खतिवडा २०४८, २०५१, २०५६ र २०७४ सालमा प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन्। २०१७ सालमा मकवानपुरमा बुबा बद्रीप्रसाद खतिवडा र स्वर्गीय महालक्ष्मी खतिवडाको कोखबाट जन्मिएका उनले कानुनमा स्नातक उत्तीर्ण गरेका छन्। उनी बार एसोसियसनको सदस्यसमेत हुन्। २०३५ सालमा अनेरास्ववियु काठमाडौं जिल्लाको अध्यक्षबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका उनी २०३७ देखि ४० सम्म अनेरास्ववियुको केन्द्रीय सदस्य भए। नेकपा (एमाले)को लेखा आयोगको सदस्य हुँदै एमाले केन्द्रीय सदस्य बनेका उनी २०७५ मा नेकपाको केन्द्रीय सदस्य बनेका थिए।
संसदीय राजनीतिमा अनुभवी विधायकका रुपमा चिनिँदै आएका खतिवडाको काँधमा वर्तमान कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी आएको छ। यसका साथै, स्वास्थ्य क्षेत्रका विविध समस्याहरुलाई सम्बोधन गर्दै यस क्षेत्रको सुधारका कार्यहरु उनले कसरी अगाडि बढाउँलान्, त्यो भने हेर्न बाँकी नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।