काठमाडौं– नेकपा एमालेमा अन्तरसंघर्ष उत्कर्षमा पुगेका बेला अनपेक्षित रुपमा प्रेम आले, किसान श्रेष्ठ लगायतका सांसदहरु अध्यक्ष केपी शर्मा ओलीलाई छाडेर माधवकुमार नेपालको पक्षमा लागे। र, नेपालले एमालेबाट विभाजित भइ नेकपा एकीकृत समाजवादी गठन गरेपछि उनीहरु पनि नयाँ पार्टीमा सहभागी भए।
कतिपयले त्यहीबेला नै मन्त्री बनाउने सौदाबाजीमा उनीहरुले माधवकुमार नेपाललाई साथ दिएको टिप्पणी गरेका थिए। यो टिप्पणी स्वाभाविक थियो। किनभने तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले मन्त्री (त्यसबेला आले वन तथा वातावरणमन्त्री थिए) बाट हटाएपछि उनीसँग चिढिएका थिए आले। अनि श्रेष्ठ पनि पटकपटक मन्त्रिपरिषद् पुनर्गठन हुँदासमेत आफूलाई एकपल्ट पनि मन्त्री नबनाएको भन्दै असन्तुष्ट बनेका थिए। उनले सार्वजनिक रुपमै पनि यो असन्तुष्टि पोखेका थिए।
उनीहरुसँगै एमाले छाडेर एकीकृत समाजवादीमा आएका डोल्पाका धनबहादुर बुढा र मुगुका गोपाल बमलगायत पनि थिए। उनीहरु सबैको नेताका रुपमा आले नै परिचित थिए।
र, त्यहीबेलादेखि नै आले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्ने जोडबलमा लागेका थिए। त्यसबेला एकीकृत समाजवादीका एक नेताले सुनाएका थिए, 'अरु कुरा थाहा छैन, आले कमरेड चाहिँ पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुहुन्छ। उहाँको इच्छा यही मन्त्रालयमा छ।'
बिहीबार साँझ एकीकृत समाजवादीले देउवा सरकारमा सहभागी हुने आफ्ना चारजना मन्त्रीको टुंगो लगाउँदा आलेको नाम त थियो, तर मन्त्रालय भने शहरी विकास प्रस्ताव गरिएको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा विरोध खतिवडालाई अघि सारिएको थियो भने रामकुमारी झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री। किसान श्रेष्ठलाई भने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका रुपमा प्रस्ताव गरिएको थियो। अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरु बसेर यो टुंगो लगाएका थिए।
तर, शुक्रबार बिहान भने त्यो जिम्मेवारी केही परिवर्तन गरियो। एकीकृत समाजवादीले खतिवडालाई स्वास्थ्य र झाँक्रीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिएको बतायो। त्यहीअनुसार मन्त्रीहरुको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाइएको जानकारी पनि समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले दिए।
तर, राष्ट्रपति कार्यालयले नवनियुक्त मन्त्रीहरुको सूची सार्वजनिक गर्दा भने त्यो पनि फेरबदल गरिएको थियो। पर्यटनमन्त्रीका रुपमा आलेको नाम राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो। अनि झाँक्रीलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो। यसो हुनुको कारण आलेले फेरि अन्तिम घडीमा गरेको चलखेल नै थियो।
'उहाँलाई पर्यटन मन्त्रालयमा किन योविघ्न आशक्ति हो भन्ने हामीले पनि बुझ्न सकेका छैनौं', एकीकृत समाजवादीका एक नेताले भने, 'उहाँको त्यो आशक्तिसामु कसैको केही जोर चलेन, उहाँ पर्यटनमन्त्री भएरै छाड्नुभो।'
आलेले शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पर्यटनमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।