काठमाडौं– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमतिलाई सिर्जनात्मक रुपमा लागू गर्ने र रचनात्मक रुपले बुझ्नुपर्ने बताएका छन्।
शुक्रबार नेपाल वुद्धिजीवि परिषद्को भेला एवं कार्यसमितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै पोखरेलले ०७५ जेठ २ गते अगाडिको पार्टी संरचना र १० बुँदे सहमतिलाई निमोठेर बुझ्न नहुने बताए।
‘यो विकसित एमाले हो, पुरानो एमाले होइन। जेठ २ भनेर तपाईंहरु अलग्गै हो है भनेर माओवादीबाट आएका साथीहरुलाई भनियो भने के हुन्छ,’ उनले भने, ‘अब सिंगो एमालेलाई एकताबद्ध बनाएर लैजानुपर्छ।’
एमाले भित्रको अन्तरविरोधमा प्रचण्डले खेल्न खोजेर माधव नेपाललाई प्रयोग गरेपछि अहिलेको अवस्था सिर्जना भएको पोखरेलको भनाइ छ।
‘मैले माधव नेपालसित एउटै कमिटीमा बसेर ४५ वर्ष सँगै काम गरेको रहेछु। उहाँ तीन–तीन पटक पार्टीको महासचिव भएर चलाइसकेको मानिस,’ उनले भने,‘अहिले पनि के लाग्छ भने उहाँमा नेतृत्वमा बस्ने धित नै मरेको रहेनछ। एमाले भनेको आफ्नो मौजा ठान्नु भएको रहेछ, अरु कोही नेतृत्वमा आएको सहन नसक्ने।’
उनले माधव नेपाल कुण्ठाग्रस्त मनोदशा बोकेर बाँच्ने मानिस भएको समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।