काठमाडौं- सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले प्रधानन्यायाधीशको कोटा भनी चर्चामा रहेको व्यक्ति मन्त्री हुनुलाई संयोगमात्र मान्न नसकिने बताएका छन्।
उनले 'बाघ पनि कराउने अनि बाख्रो पनि हराउने' नेपाली उखान मिल्न गएको नभइ यो नियोजित देखिएको टिप्पणी गरे। ‘प्रधानन्यायाधीशको आफन्त र उनकै कोटा भनी गजेन्द्र हमालले सांसद नै नरहेको र चर्चामा नहुँदा एक्कासी मन्त्री हुँदा न्यायालय पनि विवादमा तानिएको छ,’ उनले भने, ‘प्रधानन्यायाधीश मतलब भएन तर न्यायपालिका निर्विवाद रहनुपर्यो। व्यक्ति विवादित बन्नसक्छ तर न्यायालय विवाद हुन सक्दैन।’
उनले एक पटक प्रेस बोलाएर प्रस्ट पार्नुपर्नेमा किन पारेको भन्दै यसमा केही गलत भएको बुझ्न सकिने बताए।
'न्यायालय समाप्त पारिँदै छ। यो क्रम खिलराज रेग्मीबाट सुरु भयो,’ उनले भने, ‘सपार्ने हैन बिगार्नेमा प्रतिस्पर्धा भएको छ। न्यायालयप्रति आस्था कम भएको छ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले आज गठबन्धनका दलहरुलाई समेटेर मन्त्रीमण्डल विस्तार गरेका छन्। यस क्रममा गैरसांसद गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाइएको छ। उनलाई प्रधानन्यायाधीश राणाको कोटामा नियुक्त गरिएको चर्चासँगै सर्वत्र आलोचना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।