रसुवा– चिनको १९औं नेसनल कंग्रेससभालाई मध्यनजर राख्दै चिनसँगको एकमात्र व्यापारिक नाका रसुवागढीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। अक्टोबर १८ देखि चिनमा १९औं नेसनल कंग्रेससभा हुने भएपछि चिन तथा नेपालतर्फ सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो।
बडा दशैंको अवसरमा सोमबार जिल्ला प्रशासन कार्यालय रसुवामा आयोजित चिनियाँ सुरक्षा अधिकारीको टीका ग्रहण कार्यक्रममा सो कुराको जानाकारी दिइएको हो।
अन्तर्राष्ट्रिय नाकाका रुपमा घोषित रसुवागढी नाकामा यसअघिदेखि नै सुरक्षा जाँचमा सतकर्ता अपनाइए पनि चिनियाँ कंग्रेससभालाई मध्यनजर राख्दै थप सुरक्षा कडाइ गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बताइन्। उनले भनिन्, ‘तिब्बतीहरुले नेपाली तथा चिनियाँ भूमिमा बसेर चीन विरोधी गतिविधि गर्न सक्छन्, यसका लागि दुवै देशले उच्च सुरक्षा सतर्कता अपनाएको छ।’
तिब्बतीहरुले नेपाल र चीनसँगको एक मात्र खुला नाका रसुवागढी हुँदै चिनियाँ एवं नेपाली भूमि प्रयोग गरी चीन विरोधि गतिविधि गर्न सक्ने हुँदा नाकामा कडाइ गर्न यसअघि नै दुई देशका सुरक्षा अधिकारी सहमत भएका थिए। रसुवागढीमा सुरक्षाकर्मी बढाउनुपर्नेमा चीनका सुरक्षा अधिकारीले नेपाल पक्षलाई आग्रह गरेका छन्।
रसुवागढी नाकाबाट मात्र नभई थुमनको ‘मालागढी’ बाट समेत चीन प्रवेश गर्न सक्ने भएकाले त्यसतर्फ पनि सुरक्षा सतर्कता अपनाउनुपर्नेमा चीनले जोड दिएको छ। चिनियाँ नेसनल कंग्रेससभामा रसुवागढी नाका बन्द गर्ने वा नगर्ने भन्ने विषयमा चिनियाँ पक्षले जानाकारी नगराएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताइन्।
भूकम्प र पहिरोको कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि नियमित सञ्चालनमा आएको रसुवागढीलाई चीनले अन्तर्राष्ट्रिय नाकाका रुपमा घोषणा गरिसकेको छ। रसुवागढीमा तेस्रो मुलुकका नागरिकले समेत आवतजावत गर्न सक्ने गरी चीनतर्फ भौतिक पूर्वाधार निर्माणको कार्य भइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।