काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले केपी शर्मा ओलीको सरकारले अध्यादेश ल्याउँदा विरोध गर्ने माधव नेपाल र झलनाथ खनालले छापामार शैलीमा पार्टी विभाजन गरेको आरोप लगाएका छन्।
काठमाडौंमा आयोजित नेपाल वुद्धिजीवि परिषद्को भेला एवं कार्यसमितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता विष्टले पार्टी अध्यक्ष ओली नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा विरोध गर्नेले अहिले दल विभाजन गरेको बताए।
‘हिजो उहाँहरुले विरोध गर्नुभयो, आज उहाँहरुलाई जति प्रतिशत राख्दा पुग्छ त्यही आधारमा पार्टी विभाजन गर्नुभयो,’ विष्टले भने, ‘माधव नेपालले गरेको दल विभाजन राजनीतिक लगायत कुनै पनि हिसाबले औचित्यपूर्ण छैन।’
पार्टीमा हुँदा कहिले अल्पमतमा पर्ने, ओझेलमा पर्ने र अन्यायको सामना गर्नुपर्ने अवस्था हुन सक्ने भन्दै विष्टले त्यसको अर्थ पार्टी विभाजन गर्ने विषय नहुने बताए ।
‘कहिलेकाहीँ तपाईंको विचारले बहुमत नपाउन सक्छ। असहमति हुन सक्छ,’ उनले भने, ‘बहुमत प्राप्त गर्न सकेन भने पार्टी विभाजन गर्ने हिसाबले जाने हो भने राम्रो हुँदैन।’
आफूहरुले पार्टीभित्र उत्पन्न हुने सांगठनिक, वैचारिक वा नेतृत्वमा देखिएको अन्तरविरोधमा पार्टीभित्र समाधान खोज्नुपर्दछ भनेर पालै–पालो भन्दै आए पनि नेपालले सुनेको नसुनेकै गरेको उनको भनाइ छ।
‘हिजो विधिको कुरा उठाउँदै आउनुभएका माधव, झलनाथ कमरेडले १३ जना स्थायी कमिटीका सदस्यले १० बुँदे सहमतिको विषयमा अघि बढौं भन्दा उहाँले वास्ता नै गर्नुभएन,’ उनले भने,‘तपाईंहरुले जति भने पनि म मान्दिनँ, मेरो मन मानिरहेको छैन भन्ने जवाफ दिनुहुन्थ्यो।’
केन्द्रीय कमिटी र स्थायी कमिटीका सदस्यले एकताको म्यान्डेट दिँदा पनि त्यसलाई बाइपास गरेर उहाँ अघि बढेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।