काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई तत्कालीन मधेशी जनअधिकार फोरम हुँदादेखि नै आफ्नो समुदायलाई मात्र ध्यान दिएको आरोप लाग्दै आएको छ।
फोरमलाई संघीय समाजवादी पार्टीसँग एकीकरण गरेर संघीय समाजवादी फोरम, त्यसपछि समाजवादी पार्टी हुँदै जसपासम्म आइपुग्दा पनि उनीमाथि त्यो आरोप निरन्तर छ।
पछिल्लो पटक शुक्रबार भएको मन्त्रिपरिषद् पुनर्गठनमा जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुको नामलाई लिएर उपेन्द्र यादवमाथि फेरि त्यस्तै आरोप लागेको छ। त्यसको कारण हो, जसपाबाट सरकारमा सहभागी चार मन्त्रीमध्ये तीन जना यादव हुनु।
जसपाले राजेन्द्र श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, महेन्द्र राय यादवलाई कृषि तथा पशुपंक्षि विकासमन्त्री,रामसहायप्रसाद यादवलाई वन तथा वातवारणमन्त्री र रेणु यादवलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्रीका रुपमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाएको छ। उनीहरुमध्ये राजेन्द्रबाहेक सबै उपेन्द्र यादवनिकट हुन्।
जसपाबाट प्रमोद साह र मोहम्मद इस्तियाक राईलगायत नेता मन्त्री हुने चर्चा थियो। शुक्रबार मात्रै पनि साहको नाम टुंगो लागेको बताइएको थियो। तर, उपेन्द्रकै जोडवलमा उनीहरु रिङबाट बाहिरिए।
मन्त्री छनोटका क्रममा पनि शीर्ष नेताको बैठकमा भनाभन भएको एक नेताले बताए। उपेन्द्रले एक्लौटी ढंगले मन्त्री बनाउन खोजेको भन्दै संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई चिढिएका थिए।
बाबुरामले उपेन्द्रलाई आफूलाई जे लाग्छ त्यही निर्णय गर्न चेतावनी दिएका थिए। पार्टीमा सर्वसम्मत हुन नसकेपछि उपेन्द्रकै जोडबलमा चार मन्त्री छोनिएको एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।