नेपाली कांग्रेसको राजनीतिबाट टाढिएर 'राजावादी आन्दोलन'मा सक्रिय भएका भनिएका गजेन्द्र हमाल कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनेका छन्। देउवाले उनलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका छन्।
सत्तारुढ गठबन्धनका दलहरुबीचको भागबण्डामा नेपाली कांग्रेसको भागमा परेको मन्त्रालयको जिम्मेवारी पाएका हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले समेत इच्छाएका व्यक्ति हुन्। गैरसांसद हमाल मन्त्री बन्नुमा धेरै प्रधानन्यायाधीश राणाकै 'जोडबल' प्रमुख कारण भएको टिप्पणी गरिरहेका छन्। नाताले हमाल प्रधानन्यायाधीश राणाका जेठान हुन्।
प्रधानमन्त्री देउवा र प्रधानन्यायाधीस जबराको जोडबल रहेपनि हमाल मन्त्री बन्नुमा सत्ता गठबन्धनका अन्य शीर्ष नेताको पनि सहमति रहेको जनाइएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले गैर सांसद हमाललाई मन्त्री बनाउन सहमति जनाएका थिए।
सत्ता गठबन्धनले प्रधानन्यायाधीसलाई चिढाउन नखोजेकै कारण हमाल मन्त्री बनेका छन्। हमालको नियुक्तिलाई सर्वोच्चमा विचाराधीन मुद्धासँग समेत जोडेर हेरिएको छ। एकीकृत समाजवादी पार्टी अवैध, १४ जना तत्कालीन एमालेका सांसदलाई पदमुक्त नगरेको विषय सर्वोच्चमा विचाराधिन छ। साथै, बालुवाटार जग्गा प्रकरणको मुद्दा पनि विचाराधीन छ। सर्वोच्चमा सत्तारुढ दल तथा नेताहरुको विरुद्धमा रहेको मुद्धालाई आफ्नो पक्षमा पार्नका लागि पनि हमालको नियुक्ति जोडेर हेरिएको छ।
कांग्रेसको राजनीतिमा बाँकेमा सक्रिय रहेको भनि हमालले दाबी गरेपनि उनी पार्टीको कुनै सक्रिय भूमिकामा भने छैनन्। बाँके कांग्रेसका एक नेताका अनुसार उनी १० वर्ष अघिदेखि बाँकेमा कांग्रेसको राजनीतिमा छैनन्। बाँकेका एक कांग्रेस नेताले भने, ‘कांग्रेस राजनीतिमा उहाँलाई नदेखिएको १० वर्ष बढी भइसक्यो। कांग्रेस भन्दा बाहिर रहेर हिन्दुराष्ट्र र राजतन्त्रको पक्षमा उहाँ देखिनुभएको छ।’ २०५३ देखि २०५६ सम्म उनी बाँकेमा कांग्रेस सभापति बनेका थिए। कांग्रेसका पूर्व सभापति सुशील कोइरालासँग हमालको दुरी बढेपछि उनी कांग्रेसबाट विस्तारै टाढिएका थिए।
गैरसांसदको रुपमा मन्त्री नियुक्त भएका हमालसँग नेपाल लाइभका लागि लिलु डुम्रेले मन्त्री नियुक्ति, प्रधानन्यायाधीश राणासँग जोडेर गर्ने गरिएको चर्चा र अबको भूमिकाका विषयमा हमालसँग गरेको संक्षिप्त कुराकानी:
गैर सांसदका रुपमा तपाईं मन्त्री हुनभयो । तपाईंलाई मन्त्री बनाएकोमा विरोध सुरु भइसकेको छ नि?
विरोध गर्नुको अर्थ छैन। विरोधले केही हुँदैन। प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर मलाई मन्त्री बनाउनुभएको हो।
तपाईंलाई नै मन्त्री बनाउनुपर्ने कुनै खास कारण छ र? मन्त्रीमा आफ्नो नियुक्तिलाई तपाईंले कसरी हेर्नुभएको छ?
पार्टीमा मेरो योगदान थियो। लामो समयसम्म म कांग्रेसमा आवद्ध छु। बाँके जिल्लाको सभापति बनेको थिएँ। कांग्रेस विभाजित हुँदा हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाकै पक्षमा म थिएँ। ४०/४५ वर्ष देखि मैले पार्टीमा योगदान गरेको छु।
प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणा निकट भएकाले तपाईंलाई रोजिएको भनिएको छ नि?
त्यो होइन। पार्टीले मलाई मन्त्री बनाएको हो। प्रधानन्यायाधीसले मन्त्री बनाउन कहाँ मिल्छ? पार्टीमा योगदान गरेको भएर मलाई प्रधानमन्त्रीले रोज्नुभएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।