काठमाडौं– नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने नेताहरुले पाउने जिम्मेवारी हेरफेर गरेको छ। बिहीबार अध्यक्ष माधव कुमार नेपाल, महासचिव बेदुराम भुसालसहितका नेताहरुको बैठकले टंग्याएको जिम्मेवारीमा हेरफेर गरिएको हो।
शुक्रबार गरिएको हेरफेरअनुसार एकीकृत समाजवादीको नेतृत्व गरेर सरकारमा सहभागी हुने विरोध खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। यसअघि नेता रामकुमारी झाँक्रीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भनिएको थियो।
स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भनिएको झाँक्रीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाउने भएकी छन्।
नेकपा एकीकृत समाजवादीका प्रवक्ता उपमहासचिव जग्गनाथ खतिवडाले श्रम मन्त्रालयमा किशानलाल श्रेष्ठ र सहरी विकास मन्त्रालयमा प्रेमबहादुर आलेमगरलाई पठाउने निर्णय भएको जानकारी दिए।
यस्तै, भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी दिने निर्णय भएको छ।
राज्यमन्त्रीमा पठाउन लागिएका भवानी खापुङले अन्य मन्त्रालयमा जान नमानेपछि उनलाई स्वास्थ्यकै जिम्मेवारी दिन लागिएको हो।
‘उहाँले राज्यमन्त्री भए पनि ठूलो मन्त्रालयमा हुन खोज्नुभएको थियो,’ एकीकृत समाजवादीका एक नेताले भने,‘त्यो हुँदा स्वास्थ्यमा नै पठाउनुपर्ने भयो। नेताहरुको व्यवस्थापन गर्नुपर्ने भएकाले पनि मन्त्रालयको फेरबदल गरिएको हो।’
पार्टीबाट मन्त्री हुने नेताहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको पनि एकीकृत समाजवादीका नेताले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।