काठमाडौं- शुक्रबारको प्रतिनिधि सभा बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नासाथ एमाले सांसदहरु बेल घेर्न पुगेका थिए। त्यसक्रममा उनीहरुले नाराबाजी गरेका छन्।
एमाले विभाजन गर्ने गरि राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेको, सभामुख सापकोटाले माधव नेपालसहित १४ जनामाथि कारवाहीको सिफारिस टाँस नगरेको र संसदमा एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादी दलका सांसदहरु उपस्थित भएको भन्दै अवरोध गर्दै आएको छ। ९ औं अधिवेशन सुरु भएदेखि नेकपा एमालेले निरन्तर संसद बैठकमा अवरोध गर्दै आएको छ।
महत्वपूर्ण कार्य प्रभावित भएको भन्दै सभामुखले त्यसप्रति सचेत भएर सभा सञ्चालन गर्न दिन आग्रह गरेका थिए। तर, एमाले सांसदहरुले 'संसदीय मर्यादा कायम गर, कालो धन चाहिँदैन देश बेच्न पाइँदैन' भन्दै नाराबाजी जारी राखे।
निजामती अध्यादेश फिर्ता लिने प्रस्ताव भएकाले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रस्ताव पेस गर्न अनुमति दिए। सभामुखको अनुमति लगत्तै उनले प्रतिनिधि सभामा उक्त विधेयकको प्रस्ताव पेस गरे।
प्रतिनिधि सभामा उत्पति भइ विचाराधीन भएको प्रतिनिधि सभाको नियमावली २२१ अनुसार फिर्ता लिने प्रस्ताव कानुनमन्त्रीले गरेका थिए। सभामुखले बिरोधको समय निर्धारण गरेका थिए।
सांसद प्रेम सुवालले मात्र बिरोधको सूचना दिए। संसदमा दर्ता भएको विधेयक फिर्ता लिने अनि अध्यादेशबाट शासन चलाउने कार्य पञ्चायत शैली भएको भन्दै उनले सरकारको आलोचना गरे। यसमा सबै सांसदहरुले बोल्नुपर्ने उनको भनाइ थियो। सांसद सुवालले राजतन्त्रबारे गलत चर्चा भएको भन्दै संसद चलिरहेपनि एमाले सांसदहरुले भने नाराबाजीलाई निरन्तरता दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।