काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ।
पार्टीको माथिल्लो संरचनाका रुपमा सचिवालय गठन भएको एकीकृत समाजवादीका प्रवक्ता एवं उपमहासचिव जग्गनाथ खतिवडाले जानकारी दिए।
पदाधिकारी र स्थायीको संख्या धेरै भएपछि एकीकृत समाजवादीले केन्द्रीय सचिवालय गठन गरेको हो। प्रवक्ता खतिवडाले महासचिव बेदुराम भुसालको नेतृत्वमा केन्द्रीय कार्यालय पनि गठन गरिएको जानकारी दिए।
सचिवालयले नै सरकारमा सहभागी हुने मन्त्रीको नामावाली टुंगो लगाएको थियो। सचिवालयमा वरिष्ठ नेता झलनाथ खनाल, नेता मुकुन्द न्यौपाने, उपाध्यक्षमध्ये राजेन्द्र पाण्डे, प्रमेश हमाल र जयन्ती राई रहेका छन्। त्यस्तै महासचिव बेदुराम भुसाल, उपमहासचिवहरु गंगालाल तुलाधर, विजय पौडेल, प्रकाश ज्वाला र जग्गनाथ खतिवडा रहेका छन्।
स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्न नसकेको अवस्थामा पार्टीले कुनै महत्वपूर्ण निर्णय गर्नु परेमा केन्द्रीय सचिवालयले नै गर्न सक्ने अधिकार दिइएको छ।
नेकपा एमालेले अध्यक्षको नेतृत्वमा पदाधिकारी रहने गरी केन्द्रीय सचिवालय बनाउने विधान पारित गरेपछि एकीकृत समाजवादीले पनि सचिवालय बनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।