काठमाडौं- प्रतिनिधि सभामा लामो समयदेखि रिक्त रहेको उपसभामुख जनता समाजवादी पार्टी (जसपा)ले पाउने भएको छ।
बिहीबार सत्तारुढ गठबन्धनमा भएको मन्त्रालय भागवण्डासम्बन्धी सहमतिसँगै जसपाले उपसभामुख पाउने सहमति भएको हो।
गठबन्धनभित्र मन्त्रालय भागवण्डामा सहमति जुटेसँगै शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने र शुक्रबार नै नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ गराउने तयारीसमेत गरेका छन्।
बिहीबार बालुवाटारमा बसेका गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागवण्डालाई अन्तिम रुप दिने निर्णय गरेको थियो।
बिहीबार भएको सहमतिअनुसार सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रधानमन्त्री, आठ मन्त्री र दुई राज्यमन्त्री पाउनेछ।
नेकपा माओवादी केन्द्रले पाँच मन्त्री र एक राज्यमन्त्री, नेकपा एकीकृत समाजवादी पार्टी र जसपाले चार/चार राज्यमन्त्री पाउने छन्।
एकीकृत समाजवादीले चार मन्त्रीसँगै बागमती र प्रदेश १ सरकारको मुख्यमन्त्री लिने सहमति गठबन्धनमा भएको छ।
त्यसैगरी, गठबन्धनको अर्को घटक जसपाले उपसभामुख पाउने सहमति भएको गठबन्धनका एक नेताले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।