काठमाडौं- नेकपा एकीकृत समाजवादीले चार जना पदाधिकारी थपेको छ। बिहीबार बसेको स्थायी कमिटी बैठकले एक उपमहासचिव र तीन सचिव थप्ने निर्णय गरेको हो।
जसअनुसार प्रवक्ता जगन्नाथ खतिवडालाई उपमहासचिवमा बढुवा गरिएको छ। खतिवडा यसअघि सचिव थिए।
यस्तै, गरिमा शाह, जीवनराम श्रेष्ठ र भागवत विश्वासीलाई सचिव मनोनीत गरिएको प्रवक्ता खतिवडाले बताए। अहिलेको विशेष परिस्थिति हेरेर पदाधिकारी थपिएको खतिवडाले बताए।
यसअघि ४ उपाध्यक्ष, ३ उपमहासचिव र ४ सचिव थिए। चार उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल थिए।
यस्तै, महासचिवमा डा बेदुराम भुसाल, उपमहासचिवमा डा विजय पौडेल, डा गंगालाल तुलाधर र प्रकाश ज्वाला थिए। सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र केशवलाल श्रेष्ठ थिए।
अब एकीकृत समाजवादीमा एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, चार उपमहासचिव र सात सचिव भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।