काठमाडौं- हालसम्म सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन्। बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन्।
बिहीबार बिहानसम्म हिमालय, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा र सिटिजन्स बैंक इन्टरनेसनलले लाभांशको प्रस्ताव गरेका हुन्। बैंकहरुले प्रस्ताव गरेको लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पुगेको छ। राष्ट्र बैंकले केही बैंकको लाभांश स्वीकृत गरिसकेको छ भने केहीको स्वीकृत हुन बाँकी छ।
लाभांश प्रस्ताव गरेका सात वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश हिमालयन बैंकको छ। बैंकले शेयरधनीलाई कूल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने सबैभन्दा कम कुमारी बैंकले ८ दशमलव ६७ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको छ।
बैंकहरुको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीको हातमा लाभांश पर्नेछ। बैंकहरुले लाभांश घोषणा गर्न थालेपनि शेयरधनीले भने दशैंपछाडि मात्र लाभांश पाउने भएका छन्।
विगतका वर्षमा केही वाणिज्य बैंकले दशैंअघि नै वार्षिक साधारण सभा बोलाएर शेयरधनीलाई लाभांश वितरण गर्ने गरेको भए पनि यो वर्ष भने शेयरधनीले दशैं अगाडि लाभांश नपाउने भएका हुन्।
कुन बैंकको कति ?
गत आर्थिक वर्षको नाफाबाट हिमालयन बैंक लिमिटेडले शेयरधनीलाई २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २१ दशमलव ३६ प्रतिशत बोनस शेयर र ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कूल २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।
यस्तै, सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १७.८९प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत र सिटिजन्स बैंक इन्टरनेसनलले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन्। गत आवको नाफाबाट माछापुछ्रे बैंकले शेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यो बैंकले कात्तिक २६ गतेका लागि साधारण सभा पनि बोलाइसकेको छ।
यस्तैगरी, कुमारी बैंकले शेयरधनीलाई ८ दशमलव ६७ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३.०६ प्रतिशत लाभांश घोषणा गरेका छन्।
दशैंमा लाभांश नपाउने
बैंकहरुले लाभांश घोषणा गर्न थालेपनि शेयरधनीले भने दशैंपछाडि मात्र लाभांश पाउने भएका छन्। विगतका वर्षमा केही वाणिज्य बैंकहरुले दशैंअघि नै वार्षिक साधारण सभा बोलाएर शेयरधनीलाई लाभांश वितरण गर्ने गरेको भएपनि यो वर्ष भने शेयरधनीले दशैं अगाडि लाभांश नपाउने भएका हुन्।
नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालका अनुसार यस वर्ष बैंकहरुले ढिलो गरेर वित्तीय विवरण सार्वजनिक गरेकोले अन्य प्रक्रियामा समेत ढिलाइ हुँदा लाभांश वितरणमा ढिलाइ भएको हो।
हाल केही बैंकले साधारण सभा पनि बोलाइसकेका छन्। साधारण सभाले लाभांश पारित गरेपछि मात्र बैंकका शेयरधनीले लाभांश पाउनेछन्।
विकास बैंकमा कामना पहिलो
सात वाणिज्य बैंकले लाभांश घोषणा गरेपनि विकास बैंकमा लाभांश घोषणा गर्ने पहिलो बैंकमा कामना सेवा विकास बैंक भएको छ। बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
यही असोज ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांशसमेत गरी १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित १९.४७ प्रतिशत लाभांश गत चार वर्षयताकै उच्च हो। -समुन्द्रा घिमिरे/रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।