काठमाडौं– मन्त्रालय र मन्त्रीहरुको नाम टुंग्याउन बसेको सत्ता गठबन्धनको बिहीबारको बैठक निष्कर्षमा नपुगी सकिएको छ। परिणामतः बिहीबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार धकेलिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार चार दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरुको बैठक बसेको थियो। बैठकले विभिन्न मोडलमा छलफल गरेको भए पनि सहमति जुटाउन भने सकेन।
असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले कैयौं दिनसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा आलोचना खेप्दै आएका छन्। गत मंगलबार नै मन्त्रालयको भागबण्डा टुंगिएको बताइए पनि एकीकृत समाजवादीभित्र असन्तुष्टि सिर्जना भएको थियो।
यद्यपि, आजको बैठकले प्रदेश १ र बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति गरेको बताइएको छ। ती प्रदेशमा अहिले एमालेका मुख्यमन्त्रीहरु छन्। तर केही दिनभित्रै विश्वासको मत लिनुपर्ने बाध्यतामा रहेका उनीहरु अल्पमतमा छन्। त्यसको प्रतिस्थापनस्वरुप नयाँ मुख्यमन्त्रीहरु एकीकृत समाजवादीबाट बनाउने सहमति भएको एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।